अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 09:34

”विकास मोडेलबारे फरक ढंगले सोच्नुपर्ने अवस्था आएको छ” – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० जेठ २५ गते ५:४५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भइरहेको विकास पद्धतिका बारेमा फरक ढंगले सोच्नुपर्ने बताउनुभएको छ । बुटवलमा लुम्बिनी केबलकारको बिहीबार उद्घाटन गर्दै उहाँले विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले योजनाबद्ध विकासको प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशिता जस्ता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । उत्पादन रोजगारीको क्षेत्रमा प्रगति उत्साहजनक नभएको प्रधानमन्त्रीको भनाई छ । अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबारलाई सुचारु गर्ने निर्णय गरिएको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समयमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हाबी हुनु दुःखद रहेको उहाको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले उच्च मुद्रास्फीति र अस्थिर ब्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले सरकारले उपर्युक्त कदम चाल्ने विश्वास दिलाउनुभएको छ । निजी क्षेत्रका समस्या समाधान गर्नको लागि सरकार तयार रहेको उल्लेख गर्दै उहाँले सरकारले नयाँ योजनाभन्दा पनि महत्पूर्ण आयोजनालाई निरन्तरता दिनुपर्ने अवस्थामा रहेको बताउनुभयो । कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनीको पर्यटन विकास गरेमात्रै देशको आर्थिक अवस्था सुधार हुने बताउनुभयो। गौतमबुद्ध विमानस्थललाई पूर्णरूपमा सञ्चालन गर्न सरकारले ध्यान दिनुपर्ने उहाको भनाई छ ।। विमानस्थलबाट लुम्बिनीमा पर्यटन ल्याउन सकिने भएकोले यसको महत्त्व अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहेको पौडेलले बताउनुभयो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संघीयता कार्यान्वयन गर्नका लागि प्रहरी प्रदेशमा दिनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू