अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

तराई मधेसमा घरबाहिर निस्कनै मुस्किल, अझै ५ दिन तातो हावा चल्ने सम्भावना

बिआरटीनेपाल २०८० जेठ २४ गते ८:४२ मा प्रकाशित

तराई मधेसका जिल्लाहरूमा आज बुधवार झनै गर्मी बढेको छ । मौसम बदलीसँगै हिजो मङ्गलवार केही शितल महसुस भएकोमा आज गर्मी झनै बढेको हो ।आज जनकपुरको अधिकतम तापक्रम ४२ दशलमव २ डिग्री सेल्सियस पुगेको छ । यस्तै भैरहवामा ४१ दशमलव ८, सिमरामा ४१ दशमलव ७, नेपालगञ्जमा ४१ दशमलव ६ र विराटनगरमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । तराई मधेसका सबैजसो ठाउँहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सिय वा त्योभन्दा बढी पुगेको छ । अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्दा तातो हावा चल्छ ।

तराई मधेसमा अधिकतम र न्यूनतम तापक्रम बढ्नुका साथै तातो हावासमेत चल्दा घरबाहिर निस्कनसमेत मुस्किल पर्न थालेको छ । तराई मधेसमा अझै झन्डै पाँच दिन तातो हावा चल्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तातो दिनसम्बन्धी विशेष बुलेटिन निकालेर आउँदो पाँच दिन तराई मधेसमा तातो हावा चल्ने सम्भावना कायमै रहेकोले सावधानी अपनाउन सुझाव दिएको छ ।यस वर्ष मनसुन भित्रन केही ढिला हुने भएकोले गर्मी बढ्ने भएको हो । नेपालमा मनसुन भित्रने औसत समय जुन १३ हो । तर यस वर्ष एक हप्तासम्म ढिला हुन सक्ने महाशाखाले जनाएको छ ।

गर्मी बढेसँगै तराई मधेसका धेरैजसो विद्यालय बन्द गरिएका छन् । गर्मीकै कारण अस्पतालहरूमा बिरामी बढ्न थालेका नारायणी अस्पतालले जनाएको छ । पानी अभावका कारण किसानहरूले खेतमा बिउ छर्न सकेका छैनन् भने कतिपय ठाउँमा बिउ सुक्न थालेका छन् । तातो हावा चल्दा थकाइ लाग्ने, कमजोरी महसुस हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ताजस्ता लक्षण देखिन्छन् । तातो हावा तथा ‘लु’ बाट बच्न बढी गर्मीको समयमा घरभित्र बस्न, हलुका लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, पटक–पटक पानी, जुस तथा सर्बत प्रशस्त मात्रामा पिउन डाक्टरले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू