अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

आज पनि तराईमा तातो हावा, चितवन रामपुरको तापक्रम झन्डै ४२ डिग्री

बिआरटीनेपाल २०८० जेठ २१ गते ७:५८ मा प्रकाशित

आज आइतवार पनि तराईका विभिन्न ठाउँमा तातो हावा चलेको छ । गएको हप्तादेखि वर्षा तथा वर्षा गराउने प्रणाली कमजोर हुँदा बढेको तापक्रम आज पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो चितवनको रामपुरमा अधिकतम तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस पुग्यो । यस्तै नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुरलगायतका ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मधेस प्रदेशका सबै जिल्लासहित बाग्मती, लुम्बिनी र कोशी प्रदेशका तराईका क्षेत्रलाई चेतावनीको स्तरमा राखेको छ । यसबाहेक तराईका सबै क्षेत्रमा गर्मीबाट बच्न चनाखो रहन र भित्री मधेसमा पनि सम्भावित अत्यधिक गर्मीबाट जोगिन सचेत रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले पहाडका उपत्यका र खोँचमा पनि तापक्रम क्रमशः बढ्ने अनुमान गरेको छ ।

अत्यधिक गर्मीका कारण विशेषगरी तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । तराईका धेरैजसो पालिकाहरूले गर्मीका कारण विद्यालयमा बिदा दिन थालेका छन् । यसैबीच यसपालि असारको पहिलो हप्तामात्रै मनसुन भित्रिने महाशाखाले अनुमान गरेको छ । भारतमा मनसुन भित्रिनै ढिला भएकोले नेपालमा पनि ढिलो हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । सामान्यतया नेपालमा जुन १३ तारिख अर्थात् जेठ अन्तिम हप्तातिर मनसुन भित्रिने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू