अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको प्राथमिकतामा छ -उपप्रधानमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० जेठ १९ गते ७:०४ मा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी बनाउनका लागि आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ । इन्टरपोलको १००औं वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। ‘प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीर रूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।’

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान गरिएको थियो । नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए । इन्टरपोलको १००औं वार्षिकोत्सवको अवसर पारेर उनले सगरमाथाको आरोहण गरेका हुन् । हाल इन्टरपोलमा १९५ राष्ट्र सदस्य छन् । हिमालयन एडभेन्चरले आरोहणमा सहयोग गरेको थियो ।

मन्त्री श्रेष्ठले नेपाल प्रहरी र नेपाल सरकारलाई गौरव गर्ने अवसर प्रदान गरेकोमा आरोही नेपालीलाई बधाई दिनुभयो । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको भन्दै मन्त्री श्रेष्ठले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने स्पष्ट पार्नुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू