अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

श्रीलङ्कामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा

बिआरटीनेपाल २०८० जेठ १९ गते ६:१८ मा प्रकाशित

सन् २०२२ मा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याजदरलाई २ दशमलव ५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको छ ।गएको महिना मुद्रास्फीति घटेर २५ दशमलव २ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएपछि ब्याजदरमा कटौती गरिएको समाचार संस्था एएफपीले जनाएको छ । अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति झण्डै १० प्रतिशतले घटेको देखिएको छ ।

सन् २०२० जुलाईमा दरहरू एक प्रतिशत बिन्दुले घटाइएपछि यो पहिलो कटौती हो । आर्थिक सङ्कट बढ्दै गएपछि केन्द्रीय बैंकले सन् २०२२ को सुरुदेखि नै ब्याजदर बढाउन सुरु गरेको थियो र गएको वर्षको अप्रिलमा सात प्रतिशत बिन्दुले वृद्धि गरेको थियो । आर्थिकरूपमा धराशायी बनेको एसियाली देश श्रीलङ्काले मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा सहयोग प्राप्त गरेको थियो र चार वर्षको अवधिमा कोभिड र राजनीतिक सङ्कटका कारण ऋणभार चुलिएको थियो । अहिले अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ ।

श्रीलङ्कामा अति आवश्यक वस्तुहरूको लागि समेत भुक्तानी गर्न नगद अभाव भएपछि खाद्यान्न, इन्धन र औषधि समेतको अभाव भएको थियो । तत्कालीन राष्ट्रपति गोटबाया राजापक्षे महिनौँ लामो विरोध प्रदर्शनपछि जुलाईमा देश छोड्न र राजीनामा दिन बाध्य हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू