अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

नक्कली शरणार्थी प्रकरणमा अदालतद्धारा १५ अभियुक्तको बयान लिईयो

बिआरटीनेपाल २०८० जेठ १८ गते ७:०७ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ मध्ये १५ जना अभियुक्तको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतमा आज टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमसेर मियाँको बयान सकिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि पूर्व गृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयान हुनेछ। उनीहरूको बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ। थुनछेक बहस भनेको अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा राखेर मुद्दा अघि बढाउने भन्ने बहस हुनेछ। यस प्रकरणमा सरकारी वकिलले ३० जनालाई प्रतिवादी बनाएको छ।

यस प्रकरणमा प्रहरीले नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी र लक्ष्मी महर्जनलाई पक्राउ गरिसकेको छ।

फरार हुने १३ जनामध्ये काठमाडौंका ३० वर्षका केशव तुलाधर, ३४ वर्षीय हरिभक्त महर्जन, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू