अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने ए डिभिजन क्लबहरुको निर्णय

बिआरटीनेपाल २०८० जेठ १८ गते ४:२९ मा प्रकाशित

 ए डिभिजन फुटबल क्लबहरुले आफ्ना खेलाडीलाई लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने निर्णय गरेका छन् ।बिहीबार फ्रेण्ड्स क्लबको कार्यालयमा बसेको क्लबहरुको बैठकले आसन्न साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीलाई लिग जारी रहुन्जेल नपठाउने निर्णय गरेका हुन् ।

असार ६ देखि भारतको बैंग्लोरमा साफ च्याम्पियनसिप आयोजना हुँदैछ । त्यसका लागि राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३० खेलाडीको प्रारम्भिक टिम घोषणा गरेपनि प्रशिक्षण सुरु हुन सकेको छैन् । १९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा तीन चरणको खेल बाँकी छ । २७ जेठमा लिग सकिएपछि मात्र क्लबले खेलाडी रिलिज गर्ने क्लबहरुको भनाई छ ।

एन्फाले पूर्वसहमति कार्यान्वयन नगरेका कारण विरोधस्वरुप लिगका बाँकी खेलहरुमा खेलाडी र अफिसियलले कालो पट्टी बाँधेर सहभागी हुने निर्णय क्लबहरुको बैठकले गरेको छ । बैठकमा जावलाखेल युथ क्लब र तीन विभागीय टिमहरु (आर्मी, एपीएफ र नेपाल पुलिस) का प्रतिनिधि भने सहभागी थिएनन् ।

प्रतिक्रिया