अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

संकटा र थ्री स्टारबीच बराबरी, मच्छिन्द्रद्वारा सातदोबाटो ३–१ गोल अन्तरले पराजित

बिआरटीनेपाल २०८० जेठ १७ गते ६:१७ मा प्रकाशित

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार संकटा क्लव र थ्री स्टार क्लवले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा ओलावाले अफिजको ह्याट्रिकको सहयोगमा मच्छिन्द्र फुटबल क्लवले सातदोबाटो युथ क्लवमाथि ३–१ को सहज जित निकालेको छ ।ललितपुरस्थित च्यासल मैदानमा बुधबार भएको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । शुरुवातबाट नै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका लागि सुन्दर मौका बनाएपनि सदुपयोग गर्न असफल रहेका थिए ।

पहिलो हाफ अन्त्यतिर थ्री स्टारका दीपेश गुरुङले पाएको अवसरलाई खेर फाल्दा अग्रता मौका गुमेको थियो । पहिलो हाफको इन्जुरी समयमा संकटाले दुई अवसरलाई सदुपयोग गर्न गर्न सकेन । सोही क्रममा काउन्टर गरेको थ्री स्टारका आदित्य शाक्यले गरेको शक्तिशाली प्रहार संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाले बचाउँदै विफल बनाएका थिए । अर्को मिनेटमा अनमार्क रहेका दीपेश सहज अवसरलाई गोलमा परिणत गर्न सकेनन् । खेलको इन्जुरी समयमा थ्री स्टारका मार्टिन्स अजाइको क्रसलाई सिफामन्डला माथेनवाले हेडमार्फत जाली चुमाएको भएपनि अफसाइड रहँदा त्यसले मान्यता पाएन । यस बराबरीसँगै थ्री स्टार र संकटाले समान २३ खेलबाट समान २७ अंक बनाएका छन् । थ्री स्टार ११ औं स्थानमा रहेको छ भने संकटा गोलअन्तरका आधारमा १२ औं स्थानमा छ ।

लिग अन्तर्गत बुधवार नै भएको अर्को खेलमा अफिजको ह्याट्रिकमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लवले सातदोबाटो युथ क्लवमाथि ३–१ को सहज जित निकालेको हो । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलको १६ औं मिनेटमा अफिजको गोलमार्फत मच्छिन्द्रले अग्रता लिएको थियो । अफिजले दिवाकर चौधरीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् । पहिलो हाफको इन्जुरी समयमा अफिजले नै टोलीको अग्रता दोब्बर बनाउँदा ५६औं मिनेटमा आफिजले ह्याट्रिक पूरा गरेका थिए । जारी लिगमा अफिजको यो दोस्रो ह्याट्रिक हो ।

यसअघि उनले खुमलटारबिरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । तीन गोलले पछि परेको भएपनि सम्हालिने प्रयास गरेको सातादोबाटोका लागि ८४औं मिनेटमा जोर्डन पुन मगरले गोल गर्दै अग्रता छोट्याउन सफल भए । बाँकी समयमा थप गोल हुन सकेन र मच्छिन्द्रले स्पष्ट अंक जोड्न सफल भयो । यससँगै मच्छिन्द्र लिगमा अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।

जितसँगै २३ खेलमा १० जित, नौ बराबरी र चार हारको नतिजासहित ३९ अंक जोडेर मच्छिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको सातदोबाटो समान खेलमा आठ जित, पाँच बराबरी र १० हारको नतिजासहित २९ अंकका साथ सातौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू