अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

नेपालको मलेसियामाथि सहज जित

बिआरटीनेपाल २०८० जेठ १६ गते ४:५५ मा प्रकाशित

पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पारेको छ ।पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपाली महिला क्रिकेट टोलीले दोस्रो खेलमा संयमित प्रदर्शन गर्दै जित हात पारेको हो ।यूकेएम क्रिकेट ओभलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्बाधिक अविजित २९ रन बनाइन् । उनले छक्का प्रहार गरी टिमको जित निश्चित गरेकी थिइन् ।

रुविनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । ओपनरद्वय कविता कुँवर र सीता रानामगरले ३३ रनको सुरुवाती साझेदारी गरेका थिए । बलिङमा मलेसियाका एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो । मलेसियाका ओभरन विनीफ्राइड दुराइसिंगम र वान जुलियाले ३१ रनको सुरुवाती साझेदारी गरेका थिए । बलिङमा नेपालकी कप्तान रुविना क्षेत्रीले २ तथा कविता कुँवर र इन्दू बर्माले १–१ विकेट लिए । नेपालले पहिलो खेल ५ विकेटले गुमाएको थियो । दोस्रो खेलमा जित हात पारेसँगै शृंखला बराबरीको अवस्थामा पुगेको छ । दुई टोलीबीचको तेस्रो खेल बिहीबार हुनेछ ।

प्रतिक्रिया