अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

कामको अवसर खोज्नेका लागि काठमाडौंमा आजदेखि रोजगार मेला शुरु

बिआरटीनेपाल २०८० जेठ १६ गते ४:२४ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा आजदेखि रोजगार मेला शुरु भएको छ ।मंगलवारदेखि टेकुस्थित महासंघको कार्यालयमा दुईदिने मेला शुरु भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेला शुरु भएको हो ।मेलाको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरु बीचमा पुलको काम गर्ने बताउनु भयो ।

उहाँले महासंघले वीरगञ्ज र बुटवलमा रोजगार मेला सम्पन्न गरेको र राम्रो प्रतिक्रिया पाएको बताउनु भयो । उहाँले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउनु सहयोग पुर्‍याउने बताउनु भयो । उहाँले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोजगार मेलाले रोक्नसक्ने बताउनु भयो ।

अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटमा समेत निजी क्षेत्रको मनोवल उच्च राख्न हेरक क्षेत्रबाट सरकार सहयोग गर्ने उल्लेख गरेको बताउनु भयो। उहाँले सरकारले ल्याएको बजेटले निजी क्षेत्रको सहकार्य आवश्यकता आंैल्याएको बताउनु भयो । अध्यक्ष ढकालले बजेटले स्टार्टप र सीप विकासका विषयमा बजेटमा समेटेका विषय निजी क्षेत्रले उठाएको बताउनु भयो।
त्यस्तै,मेला अवलोकन गर्न आएकाहरुले आफूले खोजेको जस्तो रोजगार पाइने आशामा मेलामा आएको बताए । मेलाले पछिल्लो समय बढ्दै गएको बरोजगारीको समस्या थोरै भएपनि कम हुने अपेक्षा गरिएको छ ।

मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ । कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयांँ अवसरहरुको खोजि गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला शुरु भएको छ ।

रोजगार मेलामा १ सय भन्दा बढी कम्पनीहरुको सहभागिता रहेका छ । महासंघले मेलामा कामको खोजिमा रहेका ५ हजार भन्दी बढी युवाहरुलाई अवलोकन गराउने लक्ष्य राखेको छ । मेलामा रोजगारी, सीप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श समेत हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू