अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोकियो

बिआरटीनेपाल २०८० जेठ १३ गते ६:४५ मा प्रकाशित

पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ ।जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं कास्कीका भू–तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा बसेको समितिको सो निर्णय गरेको हो ।बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले एक संयन्त्र निर्माण गरी सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको छ । फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृतरूपले दोहन भइरहेको भन्ने सूचना आएपछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र नियमविपरीत कानुन हातमा लिएर काम गर्ने जो कोहीलाई पनि कारबाही गरिने पौडेलले बताउनुभयो ।

कास्की र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य आकर्षण फेवाताल र सिमसारको अस्तित्वमा सङ्कट ल्याउने कार्य सह्य नहुने र जोसुकै हुन कारबाही गरी छाड्ने उहाँको भनाइ छ । यसअघि फेवातालको आसपासको सिमसार क्षेत्र पुर्ने गतिविधि बढिरहेकाले त्यसलाई रोकेर सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले रोक्न माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू