अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

एमालेले सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने

बिआरटीनेपाल २०८० जेठ ६ गते ६:०१ मा प्रकाशित

 प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसदमा प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ ।एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताउनुभएको हो । शनिवार संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दल बैठकमा बोल्दै उहाँले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राख्नुभयो । सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसदबाट पारित गर्न हुन नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौलग्रस्त र दिशाहीन रहेको बताउनु भयो । सरकारको सो नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनैपनि खालको प्रतिवद्धता नआएको उहाँको दाबी थियो । नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएकोमा कटाक्ष गर्दै अध्यक्ष ओलीले गठबन्धनले आफ्नो कार्यकाल २ वर्ष तोकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले २ वर्षकै कार्यक्रम राखेको हुनसक्ने बताउनु भयो । अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम २० वर्षे, पञ्चवर्षीय वा के हो ? भन्ने यकिन नभएको बताउनु भयो ।

ओलीले मुलुकको अर्थतन्त्रको समस्या समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको जिकिर गर्दै आपत्ति जनाउनु भयो । उहाँले महालेखा परीक्षक कार्यालयको प्रतिवेदन राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको आरोप समेत लगाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू