अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

सफा हिमाल अभियानमा खटिएकाे सेनाकाे टाेली सगरमाथाकाे शिखरमा पुग्याे

बिआरटीनेपाल २०८० जेठ १ गते ५:०८ मा प्रकाशित

सफा हिमाल अभियानअन्तर्गत ल्होत्से र सगरमाथामा खटिएको नेपाली सेनाको टोली सगरमाथाको शिखर पुगेको छ ।नेपाली सेनाका कर्णेल किशोर अधिकारीको नेतृत्वमा सह–सेनानीहरू दिपेन्द्रसिंह खत्री, विष्णुबल राई र दुई जवानहरू किशोर जवेगु, शंकर कुँवर गरी पाँच जना र पाँच जना आरोहण सहयोगीले सगरमाथा आरोहण गरेका नेपाली सेनाले जनाएको छ । उनीहरूले बिहान १० बजेर ५ मिनेटमा शिखर आरोहण गरेका हुन् ।

सेनाको टोलीसँगै माउन्टेन गाइडका रूपमा भोजपुरका वोङछु शेर्पा र सङ्खुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पालेसमेत हिमाल आरोहण गरेका छन् । सेनाको टोली भोलि मङ्गलवार ल्होत्से आरोहणको तयारीमा छ । यसअघि वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् ।

गएकाे चैत १४ गते जङ्गी अड्‍डामा आयोजित फ्ल्याग अफ सेरेमनीमा प्रधानसेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी सुरु भएको अभियानबाट झन्डै ३५ हजार किलो फोहोर सङ्कलन गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म ३२ हजार तीन सय ११ किलो फोहोर सङ्कलन भइसकेको छ । यो अभियान विश्व वातावरण दिवस (जुन ५) मा समापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू