अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

मंगलबारदेखि कक्षा १२ को परीक्षा शुरु, ४ लाख ६७ हजार विद्यार्थीले दिने

बिआरटीनेपाल २०८० वैशाख २५ गते ८:०२ मा प्रकाशित

भोलि (मंगलबार) देखि कक्षा १२ को परीक्षाको शुरु हुँदैछ । परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा शान्तिपूर्ण हुने बताउँदै सबै विद्यार्थीलाई सहभागिताको लागि आह्वान गर्नुभएको छ । बोर्डका अनुसार यसवर्ष ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थीले परीक्षा दिँदै छन् । त्यसको लागि देशभर १ हजार ४ सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

अध्यक्ष शर्माले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिनुभएको छ । ‘‘परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पुर्‍याइएको छ’ उहाँले भन्नुभयो ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यस्तो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू