अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

थिति

गोपीराम भण्डारी 'बटुवा' २०८० वैशाख २३ गते १३:१९ मा प्रकाशित

दुनियाँले हेरेका तर नदेखेका
विचित्रता के देख्नु ?
विषयहीन भावहीन बेथितिका
कुरा नलेखे के लेख्नु ?
देख्नेले टुलुटुलु हेरी रह्यो
तर के हो त्यो ? उसले ठम्याएको छैन
भोगका भोका प्यादाहरूले
हिराको हार समाएको छैन
यहाँ भोक र भोजनको ताल होइन
अभाव र बेहालको फ्युजन गरिएको छ
नीति थितिको कनिका बनाई
अतिथिद्वारा कन्फ्यूज भरिएको छ

बिचरा ! धर्मभक्तहरू हरामी भएका छन्
दुर्जन कर्मभक्तहरू बिरामी भएका छन्
यस्तोमा कसले के गर्ने ज्ञानसुद्धि छैन
ढिप्कियाे बेला तर हुती, बुद्धि छैन
अवस्था निकै जर्जर छ
खेतबारी उद्योगको ठाउँमा सर्वत्र घरै घर छ
यहाँ गर्नेहरूलाई गज्जबको इलम छ
सर्वत्र उत्पादन पचाउने दम छ
आउनुस् ,हामी सबै मिलेर मुख बजाऊँ
बाँच्नलाई पुर्खाहरूको नाम भजाऊँ
यहाँ यस्तै हो कसैले केही नाप्दैन
अतिथिले लादे पनि थिति काँप्दैन
सत्ताले सरापे पछि यहाँ थिति फाप्दैन ।।

बस्छौँ औषधालयको हिमगिरीमा
छौँ सधैँ तिरिमिरीमा
रगत बेचेर ट्याब्लेट किन्ने
घरबारी बेचेर खाँडी हिँड्ने
अनि भन्ने स्वदेशमा उपाय छैन
विदेश नगई हुँदै भएन
वृद्ध बाबुआमालाई कात्रोमा राखी
सुम्पेर सिरीखुरी किर्नालाई
विक्री गर्न आफैलाई हतार हतारमा
छड्के झोला भिरेर
आफ्नै छाती चिरेर
हाँसी हाँसी अतिथिको इसारामा
आफैले आफ्नो गर्धन गिँडेका छौँ
जता डोराउँछन् अतिथिले
लुरुलुरु हिँडेका छौँ
विधि दिन्छन्,विधान दिन्छन्
कहिलेकाहीँ त संविधान दिन्छन्
अनि हामी भक्त बन्छौ पदचापका
विभक्त भई खण्ड खण्डमा
अनि भन्छौ अतिथि देवो भव:
चौपाया व्यवहार र आचरणलाई दोपायाले चाप्दैन
ढुक्कै छ ! सत्ताले सरापे पछि यहाँ थिति फाप्दैन ।।

घरकै काममा नि सुको चाहिने
सुको मै लिप्त जुको हुने
दाम बिना कसैले काम नगर्ने
जुस नभई पुजारीले पूजा नगर्ने
कहाँ छ र त्यो ठाउँ देखाइ दिनुस् न ?
सुको नभई काम गर्ने
सुको हुने त बाँच्ला केही
नहुनेले के गर्ने ?
लुछाचुँडी र तानातान
एक आपसमा हानाहान
समाज र राज्यका अङ्ग अङ्गमा
घुषाचार जीवित छ अनेक रङ्गमा
यताउता जता गए पनि
कामकाजमा आफ्नै बाबु भए पनि
नलिईकन कसैले केही गर्दैन
सुको बिना त अचेल ,रूखमा सुकेको पात नि झर्दैन ।
रूख नि बिकाऊ ,दिन नि बिकाऊ
साराका सारा झिकाऊ,कोही छैन अछुतो
हामी बिच केबल अतिथि टिकाउ
बेथितिलाई थिति ठा,ने सुको कसले छाप्दैन?
ढुक्क छ सत्ताले सरापे पछि यहाँ थिति फाप्दैन ।।

लिने र दिनेको जमानामा
देवता नि दूध माग्दो रहेछ
हामी त देवताभन्दा ठुला
सधैसधै दिई रहन्छौ
छोरीसँगै,
नदी पहाड,उद्योगधन्दा दाइजो दिन्छौ
दिन्छौ संस्कार किस्ता किस्तामा
ज्वाइँ बोलाएर ओैसी पूर्णिमामा
पुर्पुरो ठोकी पछुताउँछौँ, कालापानी र सुस्तामा
बेला: बेखतमा चड्कन्छौ
कहिलेकाहीँ पट्कन्छौँ
टिका थापेपछि अतिथिको
अथितिलाई सघाउँछौँ
बखतमा धारा प्रवाह राष्ट्रभक्ति बगाउँछौँ
मुफतमा रस पाए खोस्टो कसैले खाप्दैन
ढुक्क छ सत्ताले सरापेपछि यहाँ थिति फाप्दैन ।।।
कहिले बुझ्ने? हजुर, म अनि हामी ,महासय !!!!