अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

बुद्ध जयन्ती मनाइयो

बिआरटीनेपाल २०८० वैशाख २२ गते ७:१० मा प्रकाशित

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्‍याएको योगदानको स्मरणमा बुद्धप्रति आराधना, ध्यान गरी मनाइन्छ। भगवान विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा बुद्धको हालको रुपन्देहीको लुम्बिनीमा जन्म लिनुभएको थियो ।

राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कनुभएको थियो । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्याउनुभयो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु)वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। बुद्धको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन्।

अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहकका रुमपा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ। बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिएको थियो। यस अवसरमा नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउने भएका छन्।

लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा पनि विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइएको छ। इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो।इसापूर्व ५२८को वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष)मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो। बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो। दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो। सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी बुद्धले ज्ञान बाँड्नुभएको थियो ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना)का माध्यमबाट बुद्धले बाँड्नुभएको थियो । पैतालीस वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण ९मृत्यु०प्राप्त गर्नुभएको थियो ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ। बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो। यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ। यसप्रति अध्ययन, अनुसन्धान गर्नेको सङ्ख्या पनि बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू