अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

आरोहीप्रति

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०८० वैशाख १६ गते १७:५२ मा प्रकाशित

साहसी पाइला उठ्दै उकाली धाम खोज्दछ
अजेय शक्ति यात्रामा विघ्नको विघ्न बन्दछ
वासन्ती मनको यात्री फूलै देख्छ जताततै
छाती चर्काउने शूल हार मान्दछ लत्रिँदै ।१।

सपना सिर्जना मीठो दिलमा भित्रिएपछि
अवरोधहरू गल्छन् दृढता ब्यूँझिएपछि
कुनै सङ्ग्रामको खेलविना बन्दैन जिन्दगी
आरोही उठ्न सक्दैन मृत्युलाई जपी- जपी ।२।

चोखा गौरव गाथाकै पाठ बन्छन् अजम्मरी
ऋतुसाथ सधैँ झुल्ने हुन्छन् अम्लान मञ्जरी
विश्वभाषा गला खुल्छ मेरै आँगन माझमा
यहाँ हार्दिकताले नै हुन्छ स्वागत द्वारमा ।३।

दूरदेश तिमी आऊ मीठो सत्कार चाख क्यै
उच्च हिमालको रूप स्मृतिभित्र समेट क्यै
तपस्वी तप नै कर्म प्रेमले गर आदर
प्यूँदै सञ्जीवनी धारा पाउलाई उचा गर ।४।

दुष्कर्मी मनका मैला ढलभित्रै बिलाउँछन्
सत्कर्मी सानले अग्ली अरू उठ्न सिकाउँछन्
मृत्तिका यसमा मेरो वीरकै हुन्छ अर्चना
शिवसङ्कल्पले मात्रै खुल्छन् अन्तर- चेतना ! ५।
——————————
गोरखा , लप्सीबोट ; हाल : काठमाडौँ- ६, सरस्वतीनगर ।