अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

च्यारिटी कन्सर्ट फर कोकाहाबाट मेयर साम्पाङ्गलाई २८ लाख हस्तान्तरण

बिआरटीनेपाल २०८० वैशाख १३ गते १५:२८ मा प्रकाशित

धरान, कोकाहाखोला बाट धरान सम्म खानेपानी ल्याउन भइरहेको कोकाहा खानेपानी आयोजनामा सहयोग पुर्‍याउने उद्देश्यले गत चैत २५ गते सम्पन्न भएको बृहत् साङ्गीतिक कार्यक्रम “च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान” बाट उठाइएको रकम सोमबार सार्वजनिक गरिएको छ ।

आयोजक सिल्भर इन्टरटेन्मेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टको आयव्यय सार्वजनिक गरेको हो । उक्त कन्सर्टको सम्पूर्ण खर्च कटाएर २८ लाख ३६ हजार ३४५ रुपैयाँ बाँकी रहेको कार्यक्रम संयोजक मिना सिंगकले जानकारी दिइन् । सोही पत्रकार सम्मेलनमा उक्त रकम बराबरको डमी चेक आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ र संयोजक मिना सिंगकले मेयर हर्क राज राई साम्पाङलाई हस्तान्तरण गरेका थिए ।

संयोजक सिंगकका अनुसार टिकट बिक्रीबाट १६ लाख ४६ हजार ८५६ रुपैयाँ सङ्कलन भएको थियो । जसमा कन्सर्टको दिन गेटबाट ३ सय दरको टिकट बिक्री हुँदा ६ लाख ४८ हजार रकम उठेको थियो भने प्रिसेल टिकट २ सय दरबाट ४ लाख ७८ हजार, ५ सय, १ हजार दरको टिकटबाट २ लाख ४६ हजार ५ सय र ३ सयको टिकटबाट १८ हजार रकम सङ्कलन भएको थियो । यस्तै, एउटा पाइप बराबरको ७ हजार १२१ रुपैयाँको टिकट बिक्रीबाट २ लाख ५६ हजार ३५६ रुपैयाँ सङ्कलन भएको थियो भने टिकट बाहेकबाट विभिन्न व्यक्ति तथा संस्थाहरूको आर्थिक सहयोगबाट १९ लाख ७१ हजार २१० रुपैयाँ सङ्कलन भएको थियो । सबै गरेर ३६ लाख १८ हजार ६६ रुपैयाँ सङ्कलन भएको र खर्चतर्फ भने कुल ७ लाख ८१ हजार ७२१ रुपैयाँ भएको पनि संयोजक सिंगकले सार्वजनिक गरिन ।

मेयर साम्पाङले भव्य कन्सर्टगरेकोमा आयोजक, सहयोगी दाता, कलाकारहरू सबैलाई धन्यवाद दिएका थिए भने कन्सर्ट हेर्न आउनुहुने धरान तथा धरान बाहिरका दर्शकहरूलाई पनि धन्यवाद दिएका थिए भने सम्पूर्ण रकम कोकाहा खानेपानी आयोजनामा खर्च गरिने र चाडै धराने जनताहरुले कोकाहाको पानी खान पाउने बताउँदै दैनिक भइरहेको कोकाहा श्रम अभियानमा संलग्न हुन् हुन आव्हान गरे।

उक्त च्यारिटी कन्सर्टमा सहयोग गर्ने सम्पूर्णलाई आयोजक तथा मेयर हर्क साम्पाङले धन्यवाद पत्र वितरण गरेका थिए । गत चैत २५ गते सम्पन्न भएको कन्सर्टमा कलाकारहरू दीप श्रेष्ठ, राजेश पायल राई,दीपक लिम्बु, प्रविशा अधिकारी, डिल्ली फोम्बो एन्ड द ब्याण्ड, द वाल्किंग क्लाउड ब्याण्ड , एकदेव लिम्बु, रोहित मास्के लगायतले निःशुल्क गाएका सहयोग गरेका थिए ।

प्रतिक्रिया