अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

१० वर्षपछि अस्ट्रेलियामा मंगोलियन हार्टको साङ्गीतिक यात्रा

बिआरटीनेपाल २०७९ चैत २२ गते १६:२३ मा प्रकाशित

काठमाडौँ । नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अष्टे«लियामा साङ्गीतिक यात्रा गर्ने भएको छ । नेपाली टच अस्ट्रेलियाको व्यवस्थापनमा अस्ट्रेलियाको विभिन्न ८ सहरमा ब्यान्डले आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको हो ।

अप्रिल १० बाट म्युजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर एवम् गिटारिस्ट बबि लामाले बताए । ‘हामी शुक्रवार नै नेपालबाट अस्ट्रेलिया प्रस्थान हुँदैछौं,’ लामाले भने, ‘१० वर्षपछि अस्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौँ । दर्शक/श्रोतालाई सरप्राइज दिने हिसाबले हामीले तयारी गरेका छौँ ।’ टुर व्यवस्थापक नेपाली टच अष्टे«लियाका सिइओ दीपेश पुनका अनुसार ब्यान्डको पहिलो साङ्गीतिक प्रस्तुत १० तारिखमा मेलबर्न सहरमा हुने छ । त्यसपछि १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर टुङ्गिनेछ ।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी सङ्गीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अस्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित छन्, ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामा । ‘‘१० वर्षपछि अस्ट्रेलियामा मंगोलिन हार्टसहित ‘ज्यो ज्यो’ जाँदै छ,’लामाले भने, ‘ब्यान्डका पुराना र केही नयाँ गीत हामी त्यहाँ प्रस्तुत गर्नेछौँ । हामी अस्ट्रेलियासँगको हाम्रो पुरानो साङ्गीतिक सम्बन्ध फेरि रिन्यु गर्न पाउँदा साह्रै उत्साही छौँ ।’ ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरू हुन् ।

प्रतिक्रिया