अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु- निर्देशक द्विवेदी

बिआरटीनेपाल २०७९ चैत २० गते ७:४४ मा प्रकाशित

भारतीय चलचित्र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतवार बेलुकि आयोजना गरेको अन्तरक्रियामा निर्देशक द्विवेदीले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राख्नुभयो । ‘भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्’, उहाँले भन्नुभयो, ‘तर नेपाली कलाकारको सङ्ख्या न्यून छ, जबकि हामीबीचको भाषा र संस्कृति धेरै हदसम्म मिल्छ ।’

अभिनेता तथा लेखकसमेत रहनुभएका डा. द्विवेदीले आफूले निर्माण गर्ने आउँदा दुई चलचित्रको अडिसन नेपालमा गर्नेसमेत स्पष्ट पार्नुभयो । उहाँले ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने बताउनुभयो । उहाँले धेरै समयअघि भारतीय अभिनेता अमिताभ बच्चनलाई नेपालमा ल्याएर शुटिङ गर्ने योजना बनाएको स्मरण गर्नुभयो । ‘अमिताभ बच्चनलाई सुटिङ गराउन नेपाल ल्याउनका लागि केही लोकेसन पनि हेरेँ, तर विमानस्थलको भिडले छायाङ्कन गर्न सकिन्न कि भन्ने लाग्यो’, उहाँले भन्नुभो, ‘अहिले आएर म गलत थिए कि भन्ने लागिरहेको छ ।’

उहाँले आफू सन् २००४ मा नेपाल आएको र चितवनबारेमा भारतीय चलचित्रमा उल्लेख गरेको बताउनुभयो । डा. द्विवेदी निर्देशित सन् १९९१ मा प्रसारण भएको टेलिशृङ्खला ’चाणक्य’ बाट चर्चा कमाउनुभएको थियो । चाणक्यमा उहाँले लेखन तथा अभिनयसमेत गर्नुभएको थियो । अन्तरक्रियामा उहाँले चलचित्रसम्बन्धी तीन दशक लामो अनुभवका विषयमा चर्चा गर्नुभएको थियो । अन्तरक्रियामा अभिनेता राजेश हमाल, अभिनेत्री सुरक्षा पन्त, निर्देशक कुमार भाष्कर, नरेश पौडेल, पुर्नेन्दु झाका साथै अभिनेता कमलमणि नेपाल, भोलाराज सापकोटा, लेखक समीप्याराज तिमल्सेनालगायतको उपस्थिति थियो ।

अभिनेता हमालले निर्देशक द्विवेदीलाई नेपालमा स्वागत गर्दै भारतीय चलचित्रको विषयमा चर्चा गर्नुभएको थियो । ‘नेपालमा चलचित्रकै माध्यमबाट केही मात्रामा भए पनि हिन्दी भाषा बुझ्नेहरू हुनुहुन्छ’, उहाँले द्विवेदीलाई भन्नुभयो, ‘तपाईँहरूको कामको यहाँ पनि चर्चा हुन्छ ।’ हमालले चलचित्रका माध्यभबाट नेपाली र भारतीय कलाकार जोडिएको भनाइ व्यक्त गर्नुभयो । निर्देशक डा. द्विवेदीले चलचित्र ’पिञ्जर’, ’जेड प्लस’, ’मोहल्ला अस्सी’, ’सम्राट पृथ्वीराज’ र टेलिशृङ्खला ’मृत्युञ्जय’, ’एक और मोहब्बत’, ’उपनिषद गङ्गा’, ’सुराज्य संहिता’ को निर्देशन गर्नुभएको छ । उहाँले सन् २०२२ मा प्रदर्शन भएको भारतीय चलचित्र ’राम सेतु’ मा अभिनेता अक्षय कुमारसँग निर्माणमा सहकार्य गर्नुभएको थियो ।

प्रतिक्रिया