अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

कोलोराडोका समाजसेवी नारायण श्रेष्ठको अन्तिम संस्कार सम्पन्न

बिआरटीनेपाल २०७९ चैत १८ गते १३:३२ मा प्रकाशित

डेनभर । अमेरिकाको कोलोराडो राज्यमा स्थित नेपाली घरका पूर्व तथा संस्थापक अध्यक्ष नारायण श्रेष्ठको गत बिहीबार अन्तिम संस्कार गरिएको छ । थोरटनको होरन एण्ड म्याक कोनेटी फ्युनरल सर्भिसमा उनको दाहसंस्कार गरिएको हो । हिन्दु परम्परा अनुसार श्रेष्ठका छोरा सिद्धार्थले दागबत्ती दिएर अन्तिम संस्कार सम्पन्न गरिएको हो । नारायण श्रेष्ठको गत मार्च २० तारिखमा निधन भएको थियो ।

अन्तिम संस्कारकै दिन कोलोराडो स्थित थोरटन सहरको होरन एण्ड म्याक कोनेटी फ्युनरल सर्भिसमा श्रद्धाञ्जली सभाको पनि आयोजना गरिएको थियो । उक्त श्रद्धाञ्जली सभामा स्वर्गीय श्रेष्ठको धर्मपत्नी, छोराबुहारी, छोरीज्वाई लगायत कोलोराडो स्थित सङ्घ संस्थाका प्रतिनिधिहरू तथा श्रेष्ठका शुभचिन्तकहरूले श्रद्धाञ्जली सभाको हल भरिएको थियो । समाजसेवी श्रेष्ठलाई श्रद्धाञ्जली दिन क्यानडा, टेक्सस, स्याटल, नेब्रास्का र नेपाल देखी इष्टमित्रहरू कार्यक्रम स्थल आई पुगेका थिए ।

श्रद्धाञ्जली सभामा शोक मन्तव्य दिनेहरूमा स्वर्गीय श्रेष्ठका छोरीज्वाई ज्याक, श्रेष्ठका भान्जा अभि उदास, नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, उत्तरा श्रेष्ठ, नेपाली घरका पूर्व अध्यक्ष योगराज गौतम, रकी माउन्टेन फ्रेन्डस अफ नेपालका पूर्व अध्यक्ष शरद आचार्य, दिनेश श्रेष्ठ, प्रवासी नेपाली मञ्च कोलोराडो च्याप्टरका अध्यक्ष संजयसिंह केसी, कृष्णकुमार घिमिरे, प्रमोद श्रेष्ठ, क्यानडाबाट आएका जीवन क्षेत्री, विष्णुप्रसाद ओली, छायादेवी ओली, महालक्ष्मी शर्मा तथा स्याटलबाट आएका मोहन श्रेष्ठ थिए । शोक मन्तव्य पछि कार्यक्रममा उपस्थित सबैले लामबद्द भइ स्वर्गीय श्रेष्ठलाई फुलका गुच्छा चढाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली सभाको सञ्चालन जगत श्रेष्ठले गरेका थिए ।

श्रद्धाञ्जली सभामा कस-कसले के भने (छोटकरीमा):
जगदीश ढकाल: नेपाली घरका संस्थापक अध्यक्ष नारायण दाइ कोलोराडो नेपाली भासी माझ अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । हामीले एक असल मित्र गुमाएका छौ ।
गजत श्रेष्ठ: मित्रताको परायण हुनुहुन्थ्यो नारायण दाइ ।
योगराज गौतम: दुई दशकको हाम्रो मित्रता, सरल मृदुभासी, साथीहरूको लागि जुन सुकै बेला पनि उपलब्ध हुने व्यक्तित्व नारायण दाइ ।
शरद आचार्य: अति मिलनसार, उहाँको निधनमा सार्‍है दुखी छु ।
दिनेश श्रेष्ठ: सार्‍है दुखी छु साथै उहाँले पढेको खादवारिको हिमालय माध्यमिक विद्यालयबाट पठाएको समवेदना सुनाएका थिए ।
सञ्जय सिंह: नारायण दाइले आफ्नो दुवै आँखा डोनेसन दिएको जानकारी दिएका थिए ।

साथै अन्यले उहासंग भएका पुराना सम्झनाहरु सुनाएका थिए ।

नारायण श्रेष्ठ बि.सं २०१५ सालमा सङ्खुवासभा जिल्लाको खाँदवारिमा जन्मिएका थिए भने सन् १९९६ देखी अमेरिकाको कोलोराडोमा बस्दै आएका थिए । उनले खाँदवारिको स्कुलबाट एस-एल-सि गरेका थिए भने धरानको महेन्द्र बहुमुखी कलेजबाट अध्ययन गरेका थिए ।

नेपाली घरले संस्थापक अध्यक्ष, सल्लाहकार नारायण श्रेष्ठको सम्मानमा आगामी अप्रिल ९ तारीक आइतबार दिउसो २ बजे नेपाली सांस्कृतिक केन्द्रको भवनमा शोक सभा कार्यक्रम राखिएको नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालले बताएका छन् । साथै ढकालले उक्त शोक सभामा सबैलाई उपस्थित भइदिनु हुन समेत उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया