अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

मिटरब्याज पीडित र सरकारी टोलीबीच भोलि फेरि वार्ता हुने

बिआरटीनेपाल २०७९ चैत १७ गते ७:५६ मा प्रकाशित

मिटरब्याज पीडित र सरकारी टाेलीबीच भाेलि शनिवार फेरि वार्ता गर्ने गरी आज शुक्रवारकाे छलफल टुङ्गिएको छ । मिटरब्याज पीडितविरुद्ध सङ्घर्ष समितिका संयोजक मनोज पासवानका अनुसार उहाँहरूले बुझाएको १० बुँदे मागमध्ये आज पाँच वटा बुँदामा दफावार छलफल भएकाे र भोलि बिहान ११ बजे फेरि वार्ता गर्ने गरी आजको छलफल टुङ्गिएको छ ।

हिजो बेलुकी ६ बजे वार्ता बस्ने कुरा भए पनि यसअघि सरकारले गठन गरेको आयोगको प्रतिवेदन अध्ययन र छलफल गर्न समय लागेकोले आज बिहान १० बजे बस्ने भनिकाे वार्ता बिहान साढे ७ बजे नै सुरु भएको पनि पासवानले बताउनुभयो । मिटरब्याज पीडितको समस्या अहिले भर्खरको समस्या नभएको र यसअघि पनि सरकारसँग यस्तै प्रकृतिको मुद्दामा सम्झौता भएकोमा त्यस सम्झौतालाई सरकारले कार्यान्वयन नगरेका कारण अहिले आफूहरूले राखेको दश बुँदे मागमा मिहिन ढङ्गले दफावार छलफल भएको उहाँले बताउनुभयो ।

मिटरब्याजीहरूले अदालतबाट आफ्नो पक्षमा फैसला गराएका कारण पीडितले कानुनीरूपमा न्याय पाउने आश नभएका कारण अहिले एउटा शक्तिशाली आयोग गठन र तमसुक खारेज सम्बन्धमा विशेष छलफल भइरहेको पनि संयाेजक पासवानकाे भनाइ छ । अहिले तमसुक मिटरब्याजीहरूको पक्षमा रहेकाे र त्यही तमसुकका आधारमा उनीहरूले आफ्नो पक्षमा फैसला गराउने गरेका कारण कानुन र अदालत दुवै मिटरब्याज पीडितको पक्षमा नभएको उहाँले बताउनुभयाे । यस्ताे अवस्थामा अदालतबाट पीडितको गुमेको सम्पत्ति फिर्ता हुन नसक्ने हुँदा यो सबै समाधानका लागि पनि नयाँ कानुन बन्नुपर्ने माग सरकारी वार्ता टोलीसमक्ष राखेको उहाँले जनाउनुभयाे ।

आयोगले के–के काम गर्ने, कसरी काम गर्ने भन्ने सन्दर्भमा आज पनि पूर्णरूपमा छलफल हुन नसकेका कारण भोलि फेरि वार्तामा बस्न लागिएको संयाेजक पासवानले जानकारी दिनुभयो । सरकारी टोली पनि यो मिटरब्याज के हो र कसरी समाधान गर्ने भन्नेतर्फ पूर्णरूपमा लागिपरेका कारण वार्ता समस्या समाधान गर्ने गरी अगाडि बढेका कारण पनि समय लागेको उहाँकाे भनाइ छ ।पासवानका अनुसार सरकारले यसअघि पनि सम्झौता गरेर लागू नगरेका कारण अहिले पनि त्यस्तै हुने डरले जतिसुकै समय लागे पनि निष्कर्ष ननिस्की यहाँबाट नजाने समितिले अडान लिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू