अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

‘५३ हजार कर्मचारीको दरबन्दी छ, २ हजार कर्मचारीमात्रै पालिकाको रोजाइमा पर्ने गरेका छन्’– मन्त्री मोदी

बिआरटीनेपाल २०७९ चैत १५ गते ७:१४ मा प्रकाशित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय सरकारसँग प्रदेश र पालिका सरकारको दोहोरो समन्वय हुन आवश्यक रहेको बताउनुभएको छ । बुधवार काठमाण्डौ महानगरपालिकाले आयोजना गरेको पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री मोदीले तीन तहका सरकारसँग समन्वयकारी भूमिका खेल्न दोहोरो समन्वय हुनुपर्ने बताउनुभएको हो । उहाँले प्रदेश र पालिकाको कामलाई प्रभावकारी बनाउन केन्द्र सरकारसँग दोहोरो समन्वय बनाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री मोदीले देशमा ५३ हजार जना कर्मचारीको दरबन्दी भए पनि दुई हजार जना कर्मचारीमात्रै पालिकाको रोजाइमा पर्ने गरेको बताउनुभयो । उहाँले सात सय ५३ वटा पालिकामा दुई हजार जना कर्मचारी रोजाइमा रहेकाले ५१ हजार कर्मचारीलाई कहाँ पठाउने भन्दै पालिकासँग जवाफ माग्नुभयो । उहाँले रोजाइको अधिकृत पठाउन माग गर्दै मन्त्रालयमा मेयरहरूको नै दैनिक भिड लाग्ने गरेको गुनासो गर्नुभयो ।

मन्त्री मोदीले वर्तमान सरकारको पालामा नै सङ्घीय निजामती सेवा ऐन आउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले लामो समयदेखि रोकिएको सङ्घीय निजामती सेवा ऐन आफू मन्त्री भएर आएको दुई महिनामा नै प्रक्रिया अगाडि बढाएको दाबी गर्नुभयो । उहाँले ऐन प्रक्रिया अगाडि बढेर अहिले कानुन र अर्थ मन्त्रालयमा स्वीकृतका लागि पठाएको बताउनुभयो । अब बस्ने प्रतिनिधि सभामा पेस गर्ने गरी ऐनको प्रक्रिया अगाडि बढाएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू