अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

स्रष्टा र सृष्टि

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ चैत १० गते १६:०५ मा प्रकाशित

स्रष्टा कला सिर्जन खोज्छ नौलो
जुधेर बाधासित खोल्छ दैलो
कहाँ छ पर्दा मुटुलाई छेक्ने ?
ताराहरूले छ र के नदेख्ने ? १।

विश्वासका नेत्र चमक्क चम्की
गन्तव्य भेट्छन् गति लम्की लम्की
जो भित्र मिठो रसको छ स्वप्ना
ऊ फुल्छ गर्मी पथका विपद्-मा ।२।

झर्छन् रूखा बादलका परेला
मुस्काउँछन् आखिर मात्र ठेला
काँडाहरू निष्फल छन् कठोर
उल्लास भर्ने मधुमासनेर ।३।

सङ्कल्पको जीवन हुन्छ चोखो
शूली चढी पुष्प हुँदैन खोटो
फैलिन्छ चारैतिर सौर शोभा
रात्री ढली झल्मल हुन्छ आभा ।४।

सद्-बीज माटो बनी फुल्न खोज्छ
जरा-जरा पल्लव कामना छ
भने स्वयम् पत्थर गल्छ गल्छ
अठोटमा जर्जर काल ढल्छ ।५।

आँधी हुरीको सपना त ढल्छ
लुटेर माया कति टिक्न सक्छ ?
डुब्दा उता पश्चिमबाट घाम
रोकिन्न कैल्यै शिरको प्रणाम ।६।

————————-
गोरखा, लप्सीबोट ; हाल: काठमाडौँ- ६, सरस्वतीनगर ।