अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

बेलारुसमा अलपत्र ९ नेपाली महिलालाई स्वदेश फर्काइयो

बिआरटीनेपाल २०७९ चैत १० गते ७:२७ मा प्रकाशित

बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई स्वदेश फर्काइएको छ । आज शुक्रवार उनीहरूलाई नेपाल फर्काइएको हो ।नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई रहेका छन् । उनीहरूलाई नेपाल फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले स्वदेश फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले विदेशमा पु¥याई अलपत्र बनाउनेहरूलाई सरकारले कारबाही गर्ने आश्वासन दिनुभयो ।

त्यस्तै स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको बताउनुभयो । उहाँले नेपालबाट जाँदा एजेन्टहरूले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ दैनिक पाउने गरेको बताउनुभयो । पीडित ९ जना महिलालाई विभिन्न सङ्घ–संस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरू टिकटक लाइभमा आएर स्वदेश फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू