अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

श्रीलङ्कामा स्थानीय निकायको चुनाव अनिश्चितकालका लागि स्थगित

बिआरटीनेपाल २०७९ चैत १० गते ७:२६ मा प्रकाशित

श्रीलङ्कामा स्थानीय निकायको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । श्रीलङ्काको निर्वाचन आयोगले हिजो स्थानीय निकायको चुनाव अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको हो ।आयोगका सदस्यहरूको बैठकपछि निर्वाचन आयुक्त समन श्री रत्नायकेले चुनाव अब कहिले गर्ने भन्ने विषयमा आयोगबीच सहमति हुन नसकेको जानकारी दिनुभयो । उहाँले आयोगले चाँडै नै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने र त्यसपछि भावी कार्ययोजनाका बारेमा निर्णय गर्ने बताउनुभयो । यसअघि सुरुमा मार्च ९ का लागि तय गरिएको थियो । तर सरकारले चुनाव खर्च उपलब्ध नगराएपछि चुनाव अप्रिल २५ का लागि तय गरिएको थियो ।

श्रीलङ्कामा स्थानीय निकायको चुनाव हरेक चार वर्षमा एक पटक हुने संवैधानिक व्यवस्था छ । यसअघि सन् २०२२ को सुरुमै हुनुपर्ने चुनाव आर्थिक सङ्कटका कारण पटक पटक स्थगित हुँदै आएको छ । श्रीलङ्कामा आर्थिक सङ्कटका कारण चुनावलगायतका थुप्रै गतिविधिहरू प्रभावित भएका छन् । प्रश्नपत्र छपाउन कागज किन्ने पैसा नभएपछि श्रीलङ्का सरकारले गएको वर्ष राष्ट्रिय परीक्षा समेत स्थगित गरेको थियो । इन्धन, खाद्यान्नलगायतको सङ्कट पनि अझै हटिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू