अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

एक्लै बहुमत ल्याउन ’मिसन ग्रासरुट’ -एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ चैत १० गते ७:०७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो आम चुनावमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ’मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको जिकिर गर्नुभएको छ । झापामा सञ्चालन भइरहेको ’मिसन ग्रासरुट’ अभियानको आज शुक्रवार आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिनुभयो ।

एमालेविरुद्ध केन्द्रमा १० दलीय गठबन्धन बनाए पनि आम नागरिक एमालेकै पक्षमा रहेको ओलीको दाबी थियो । अभियानले आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरूको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने उहाँले बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले कुनै कमी–कमजोरी भए भने आफ्नो पनि आलोचना गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । फरक प्रसङ्गमा उहाँले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हुँदा यसको विरोध गरिरहेकाहरूलाई समेत एमालेका कार्यकर्ताले सम्झाउनुपर्ने बताउनुभयो ।

गृह जिल्ला झापाको ’मिसन ग्रासरुट’ अभियान गएको फागुन १० गते सुरु भएको थियो । जिल्लाका १५ पालिका र एक सय ३१ वटा वडा तहमा अभियान सञ्चालन भइरहेको एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू