अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

कोरोनातन्त्र लिएर आए समीर

बिआरटीनेपाल २०७९ चैत ९ गते ११:१० मा प्रकाशित

काठमाडौं । विगत तीन दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाउँदै आएका लेखक रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ ।

लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो। कोरोनातन्त्र सूत्र उपन्यासभित्र एक सय एक वटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन्। ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ ।

कोरोनाको वैश्विक महामारीको शुरूदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, उपचार शय्या र अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सूत्रात्मक रूपमा बुनेका छन्।

उनले कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन् । पुस्तकको केन्द्रीयपात्र डा.शर्माको भोगाइ तथा अनुभवले उपन्यास निकै बाँधिएको छ।

हामीले भोगेका निरङ्कुशतन्त्र, प्रजातन्त्र, लोकतन्त्र आदिले जसरी हामीमाथि निर्मम शासन गरे, त्यसैगरी आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शासन गर्यो भन्ने बिम्बलाई पुस्तकमा सुललित रूपमा लेखिएको छ। इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजको रूपमा रहने विश्वास गरिएको भनाइ लेखक समिरको छ।

जीवन भागदौडमा चलेको थियो। विज्ञान र प्रविधिमाथि ठूलो भरोसा थियो। सन् २०१९ को अन्त्यतिर पहिले शङ्काले आँकुरा निकाल्यो । शङ्कापछि हल्लाले आकार लियो। हल्लापछि जैविक अस्तित्व विलोप हुनसक्ने डरको आँधीबेहरी चल्यो। डरपछि महामारी आयो अनि जीवन र जगत् ठप्प भयो।

जगतभरि रहेको अक्सिजन अपूरो भयो, मान्छेसँग मान्छे डराउनुपर्ने अवस्था आयो, अस्पतालका शय्या साँघुरा भए, केही दिन पहिले भेटेका तथा बाक्लो जीजीविषा भएका मान्छे श्यामस्वेत तस्विरमा देखिए, प्रियजनको अन्तिम संस्कार गर्ने मलामी र घाट अत्यल्प भए तथा खोपको सुस्त विकास एवम् गिर्दो अर्थराजनीतिले संसार आक्रान्तको आवर्तमा पर्‍यो ।

महामारीको यो अत्यासलाग्दो विभीषिकालाई शब्दमा संगठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास हो– कोरोनातन्त्र। लघुकथाका थुँगाहरूलाई पृथक आयामबाट एउटै सूत्रमा उनेर बनाइएको मालाजस्तो भएकाले यसलाई सूत्रउपन्यास भन्नु वाञ्छनीय हुन्छ । यो उपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताको लागि महामारीको गतिलो इतिहास हुनेछ।

कोरोनातन्त्र उपन्यासमा उनले कोरोनाको वैश्विक महामारीका अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरेका छन् । कोरोनातन्त्र वर्तमान तथा भावी पुस्ताको लागि संग्रहणीय उपन्यास हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू