अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०७९ चैत ९ गते ६:२७ मा प्रकाशित

आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आज सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘ए’ मा परेको छ ।प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा हुने छन् ।

समूह ‘ए’ मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । उद्घाटन खेल नेपाल र मलेसियाबीच मे १८ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपालले दोस्रो खेल मे २१ मा ओमानसँग कीर्तिपुरमै खेल्नेछ र यो नेपालको ५० औं ओडीआई खेल हुनेछ । नेपाल र ओमानसहित स्कटल्याण्ड आईसीसी क्रिकेट लिग टू को शीर्ष तीन भित्र रहँदै आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा छानिएका छन् ।

दुवै मैदानमा समूह्य चरणमा १०–१० र एक एक सेमिफाइनल खेल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल कीर्तिपुरमा हुनेछ । फाइनल खेल मे १ तारिखमा हुनेछ भने मे २ तारिखलाई रिजर्भ डे राखिएको छ । प्रिमियर कपको विजेता एसिया कपमा छनोट हुनेछ भने विजेतासहित शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू