अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

घ्याल्सुम्दोवासीले न्यूयोर्कमा मनाए ल्होसार

बिआरटीनेपाल २०७९ चैत ८ गते १५:२६ मा प्रकाशित

न्यु योर्क । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले विभिन्न सांस्कृतिक कार्यक्रमसहित ग्याल्पो ल्होसार मनाएको छ ।

हरेक वर्ष हर्षोल्लासका साथ मनाइने लोसार यस वर्ष बाघ वर्गलाई बिदाइ र नयाँ वर्ष खरायो वर्गलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाए । संस्थाका अध्यक्ष निमा छिरिङ घलेले कार्यक्रमको सभापतित्व र नेपाली महावाणिज्य दुतावासका वाणिज्यदुत गणेश प्रसाद अधिकारीको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न गरिएको थियो । अध्यक्ष घलेले संस्कार र संस्कृतिको संवर्द्धन र नयाँ पुस्तालाई हस्तान्तरण गर्नको लागि ल्होसार कार्यक्रम गरिएको बताए । वाणिज्यदुत अधिकारीले ल्होसारको शुभकामना दिँदै अमेरिकामा पनि संस्कृतिको जगेर्ना गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा स्थानीय तहका निर्वाचित पदाधिकारीहरूको पनि सहभागिता रहेको उक्त कार्यक्रममा न्यु योर्क राज्यका सांसद स्टिभन रागा र काउन्सिल मेम्बर जुली वानका प्रतिनिधिहरू, नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, गैर आवासीय नेपाली सङ्घ अमेरिका, न्यु योर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पा, कलेजपाइेन्ट सिभिक एण्ड ट्याक्स्पेयर एसोसिएसनका अध्यक्ष नवराज केसी, एनिमल भिलेज हस्पिटलका प्रमुख डा. डेनिस सेराभोलो र संस्थाका धर्मगुरु लामा तेन्जिङ विशेष अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू र पत्रकारहरूको पनि सहभागिता रहेको कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा औपचारिक परिचय र शुभकामना आदानप्रदान गरिएको थियो । औपचारिक कार्यक्रम संस्थाका महासचिव राजु लामाले सञ्चालन गरेका थिए ।

संस्थाका विभिन्न क्रियाकलापमा जिम्मेवारी लिई विशेष योगदान पुर्‍याएकोमा संस्थाले “सेभ द कल्चरका संयोजक छिरिङ लामा, “खेलकुद संयोजक राजु गुरुङ र “महिला तथा आमा समूह” संयोजक चित्र कुमारी गुरुङलाई सम्मान गरिएको थियो । यस्तै दोस्रो चरणमा स्थानीय कलाकारहरूले हिमाली भेगमा नाचिने मौलिक तथा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कलाकारहरूको प्रस्तुतिलाई दर्शकहरूले प्रशंसा गरेका थिए । नेपालका वरिष्ठ नृत्य निर्देशक गोविन्द राईको कोरियोग्राफमा कलाकारहरूले प्रस्तुत गरेको नृत्यलाई दर्शकहरूले खुब मन पराएर पुनः प्रस्तुतिको माग गरेका थिए । त्यस्तै कार्यक्रममा युवा नृत्य निर्देशिका गौरी लामाको कोरियोग्राफमा साना बालबालिकाहरूले पनि नृत्य प्रस्तुत गरेका थिए । करिब तीन सय दर्शकहरूको सहभागिता रहेको ल्होसार कार्यक्रम भव्य र सभ्य उत्कृष्ट रहेको दर्शकहरूले बताए । सन् १९९९ देखि संस्थागत रूपमा दर्ता रही विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको घ्याल्सुम्दो सेवा संस्थामा नेपालको मनाङ जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायहरू आबद्ध रहेका छन् ।

संस्थामा विशेष गरी दुई गाउँपालिका “चामे” र “नासाँ” क्षेत्रमा बसोबास गर्ने जनसमुदायहरूलाई घ्याल्सुम्दोबासी भनेर चिनिन्छ । स्थानीय भाषामा “घ्यालम्” भनेको ठुलो बाटो र “सुम्दो” भनेको तिन तिरबाट जोडिएको र समग्रमा तिन तिरबाट जोडिएको ठुलो बाटो भनेर बुझिन्छ । त्यस क्षेत्रका अधिकांश बासिन्दा बौद्ध धर्मालम्वीहरु भएकाले ल्होसार पर्वको ठुलो महत्त्व रहेको छ । घ्याल्सुम्दो सेवा संस्था अमेरिकामा रहेका नेपाली डायस्पोरामा एक परिचित संस्था हो । घ्याल्सुम्दो सेवा संस्थाले गैर नाफा मुलक संस्था डिजिटल ब्रिज फर नेपालसँगको सहकार्यमा मनाङको नासों गाउँपालिका थोन्चे उच्च माध्यमिक विद्यालयमा कम्प्युटर लर्निङ इन्भायरोमन्टल सेन्टर स्थापना गरेको छ । कम्प्युटर लर्निङ इन्भायरोमन्टल सेन्टरले ग्रामीण समुदायमा रहेका विद्यार्थीहरूलाई कम्प्युटर शिक्षामार्फत टेक्नोलोजिक दुरी कम गर्नु सहयोग गर्ने उद्देश्य रहेको छ ।

प्रतिक्रिया