अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

इराक र इरानबीच सुरक्षा सम्झौता

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:२४ मा प्रकाशित

इराक र इरानबीचमा सुरक्षा सहयोगसम्बन्धी सम्झौता भएको छ । इरानको सरकारी समाचार समिति इर्नाले दिएको जानकारीअनुसार यी दुई देशका बीचमा सुरक्षा सहयोगका सम्बन्धमा सम्झौता भएको हो ।इरानको उच्च सुरक्षा निकाय सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव अलि सामखानी र इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार क्वासिम अल अराजीका बीचमा सुरक्षा सम्झौता भएको हो ।

इरानका उच्च सुरक्षा परिषद्का सचिव सामखानी इराकको भ्रमणमा रहनुभएको र यसैक्रममा आइतवार इराकको राजधानी बग्दादमा सुरक्षा सम्झौता भएको पनि इर्ना समाचार समितिले जानकारी दिएको छ ।त्यस सम्झौतासम्बन्धी समारोहमा इराकका प्रधानमन्त्री मोहम्मद सियाज अद सुदानीको पनि उपस्थिति रहेको थियो । यो सम्झौताअनुसार यी दुवै देशले सुरक्षाका विषयमा आपसी सहयोग र समन्वय गरी अघि बढ्ने उल्लेख गरिएको छ ।

यी दुवै देशमा आतङ्कवादी समूह तथा सङ्गठनले आक्रमण गर्ने र हत्या हिंसा गर्ने गरेकाले यस्ता समूहबाट बचाउन र देशलाई सुरक्षा प्रदान गर्नका लागि आपसमा सहयोग र समन्वय पनि गर्ने सम्झौतामा उल्लेख गरिएको छ । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न तथा आतङ्कवादी समूहले गर्ने गरेका हिंसात्मक हमलाहरूबाट नागरिकको सुरक्षाका लागि पनि इराक र इरानले आपसमा सुरक्षा सहयोग र समन्वय प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू