अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

नेपालसहित १० राष्ट्रबीच एसिसी प्रिमियर कप

बिआरटीनेपाल २०७९ चैत ५ गते ८:०३ मा प्रकाशित

आउँदो वैशाखमा नेपालमा एसिसी प्रिमियर कप हुने भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको हो ।पछिल्लो समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप–२ को दुई त्रिकोणात्मक सिरिज आयोजना गरेको नेपालले यसपटक भने दुई मैदानमा एकदिवसीय फम्र्याटमा खेलाइने प्रिमियर कप आयोजना गर्न लागेको हो ।

त्रिवि मैदानसँगै माथिल्लो मूलपानी मैदानमा प्रतियोगिता सञ्चालन गर्न तयारी भईरहेको क्यानले जनाएको छ । प्रतियोगिता वैशाख ११ मा सुरू भएर वैशाख २५ मा सकिनेछ । प्रतियोगितामा नेपालसहित १० राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा नेपालसहित कुवेत,कतार,साउदी अरेबिया र युएई छन् । समूह ‘बी’ मा बहराइन, हङकङ, मलेसिया, ओमान र सिंगापुर छन् । प्रतियोगितामा समूह चरण,सेमिफाइनल र फाइनल गरी २४ खेल हुनेछन् ।

साउदी अरेबिया र बहराइन एसिसी च्यालेन्ज कपको विजेता र उपविजेताको रुपमा प्रिमियर लिगमा छनोट भएका थिए । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ । एसिया कप पाकिस्तानमा हुने बताइएको छ तर, भारतले भने सहमति जनाएको छैन् ।

प्रतिक्रिया