अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

सुदूरपश्चिम सरकारले विजेता नेपाली क्रिकेट खेलाडीलाई जनही २ लाख रूपैयाँ दिने

बिआरटीनेपाल २०७९ चैत ४ गते ८:१४ मा प्रकाशित

सुदूरपश्चिम प्रदेश सरकारले क्रिकेट खेलाडीलाई जनही २ लाख रूपैयाँ दिने भएको छ ।सरकारले चैत २ गते बिहीबार काठमाडौंमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी हुँदै विश्वकप छनोटमा पुग्न सफल सुदूरपश्चिम प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको हो । युएईलाई पराजित गर्दै नेपाललाई विश्वकप क्रिकेटमा छनोटमा पुर्याउन महत्वपूर्ण योगदान गरेका प्रमुख खेलाडी दिपेन्द्रसिंह ऐरी र भिम सार्कीलाई जनही २ लाख रूपैयाँ दिने सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको हो ।

त्यस्तै, टिममा परेका खेलाडी सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन सावदलाई ५० हजार गरी ६ लाख रूपैयाँ दिने मुख्यमन्त्री कमल शाहको सचिवालयले जनाएको छ ।नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको विषेश पहलमा सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषणा गरेको हो । चन्दको सुदूरपश्चिम गृह प्रदेश पनि हो ।प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेकोमा खुशी व्यक्त गर्दै यो प्रोत्साहनले अगामी दिनमा पनि क्रिकेटमा लागि रहन हौसला मिलेको खेलाडी भीम सार्कीले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले खेलाडी नगदसहित सम्मानको घोषणा गर्ने कार्य निकै महत्वपूर्ण रहेको क्रिकेट संघका अध्यक्ष चन्दले बताउनुभयो। पुरस्कारले खेलाडीलाई खेलप्रति लागिरहन हौसला मिल्ने चन्दले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका आफ्ना प्रदेशका क्रिकेटरलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका ५ जना खेलाडी जनही १ लाख र ४ टिम अफिसियललाई जनही ५० हजार रूपैयाँ दिने घोषणा गरेको हो । नेपाली यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमका दीपक बोहरा, दिपक बोहरा बी, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द रहेका थिए । त्यस्तै, टिम अफिसियलमा मुख्य प्रशिक्षक जगत टमटा, सहायक प्रशिक्षक धिरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए ।

यू–१९ नेपाली टोलीले २०१६ को विश्वकपपछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल सरकारले नेपाल क्रिकेट संघ (क्यान) ले जनही १ लाख रुपैयाँको पुरस्कार दिने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू