अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 12:55

नेपालबाट साढे १३ अर्ब नाफा विदेशियो

बिआरटीनेपाल २०७९ चैत ३ गते ८:०२ मा प्रकाशित

चालु आर्थिक वर्षको ८ महिनामा लाभांश वापत करिब साढे १३ अर्ब रुपैयाँ विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३ सय २४ रुपैयाँ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो ।विभागले ८ महिनामा रोयल्टी वापत २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १ सय ७ रुपैयाँ , ११ लाख ४८ हजार ७ सय ६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८ सय २५ भारतीय रुपैयाँ तथा ७ हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।विभागले फागुनमा मात्रै लाभांशवापत करिब ३ अर्ब रुपैयाँ विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले २ अर्ब आठ करोड १० लाख ८३ हजार रुपेयाँ विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार पाँच सय ३७ रुपैयाँ , दुई लाख ५० हजार २४ अमेरिकी डलर, बीस लाख १० हजार ५५ २५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।

शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने विभागको अनुमान छ । “गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ”, उहाँले भन्नुभयो । चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, एक सय ५० जना प्रतिनिधि र तीन सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म दुई सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार एक सय ९६ रूपैयाँ लगानीको प्रतिवद्धता प्राप्त भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू