अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

अनेसास कोलोराडो शाखा सर्वोत्कृष्ट च्याप्टर घोषित

बिआरटीनेपाल २०७९ चैत २ गते १२:५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा अनेसास, बस्टन च्याप्टरको संयोजनमा बस्टन, अमेरिकामा मार्च १० देखि १२ सम्म आयोजित पाँचौँ अन्तर्राष्ट्रिय च्याप्टर तथा महिला सम्मेलनको अवसरमा अनेसास, कोलोराडो शाखालाई अनेसासको सर्वोत्कृष्ट च्याप्टर घोषणा गरिएको छ । विश्वका ५० मुलुकहरूमा फैलिएका ८० ओटा च्याप्टरहरूले सन् २०२१ – २०२३ मा गरेका कार्यहरूको मूल्याङ्कनका आधारमा कोलोराडो शाखालाई नगद ५०१ अमेरिकी डलरसहित सो सम्मान पत्र प्रदान गरिएको हो । सम्मेलनको दोस्रो दिन कार्यक्रममा सहभागी च्याप्टरहरूले आ-आफ्नो प्रगति प्रतिवेदन पेस गरिसकेपछि घोषणा गरिएको उक्त पुरस्कारको रकम अनेसास बोर्ड अफ ट्रस्टिज अध्यक्ष पदम विश्वकर्माले र सम्मान पत्र अनेसास केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले कोलोराडो शाखा अध्यक्ष राजु सिटौलालाई शाखाबाट प्रतिनिधित्व गर्नुहुने अन्य पदाधिकारीहरूको माझमा प्रदान गर्नुभएको थियो । सर्वोत्कृष्ट च्याप्टर मूल्याङ्कन समितिमा अनेसास, केन्द्रीय महासचिव विमला निरौलालगायत पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली तथा अर्का पूर्वकेन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ रहनुभएको थियो । पुरस्कार रकमको प्रायोजन बोर्ड अफ ट्रस्टिज अध्यक्ष पदम विश्वकर्माले गर्नुभएको थियो ।

यसै गरी सम्मेलनको दोस्रो दिनमै आयोजित पुस्तक विमोचन समारोहमा अनेसास, कोलोराडो शाखाद्वारा प्रकाशित ‘मनु ब्राजाकीको श्यामकहानी’ पुस्तकको लोकार्पण गरिएको थियो । सुप्रसिद्ध कथाकार तथा गजलकार मनु ब्राजाकीका लेखहरू र विभिन्न लेखकहरूले उहाँको संस्मरणमा लेखेका लेखहरू सङ्गृहीत गरेर प्रकाशित गरिएको उक्त पुस्तकको लोकार्पण वरिष्ठ आख्यानकार कृष्ण धरावासी, अनेसास पूर्वकेन्द्रीय अध्यक्ष मोहन सिटौला, अनेसास बोर्ड अफ ट्रस्टिजका पूर्व सल्लाहकार रोहिणी शर्मा, अनेसासका बोर्ड अफ ट्रस्टिज पूर्व सदस्य तीर्थराज अधिकारी, अनेसासका बोर्ड अफ ट्रस्टिज पूर्व अध्यक्ष तथा पूर्वकेन्द्रीय अध्यक्ष गीता खत्री, अनेसासका बोर्ड अफ ट्रस्टिज अध्यक्ष तथा पूर्वकेन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रीय अध्यक्ष गोवर्धन पूजा, अनेसास केन्द्रीय महासचिव विमला निरौला, अनेसास कोलोराडो शाखा सल्लाहकार निर्मल प्याकुरेल तथा अनेसास कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाबाट भएको थियो । समीक्षक/ समालोचक विमल अधिकारीले पुस्तकको विविध पक्षको बारेमा जानकारी गराउँदै पुस्तकले मनु ब्राजाकीको जीवन कहानी बोलेको बताउनुभयो । संस्मरण साहित्यको इतिहासमा पुस्तक कोसेढुङ्गा हुने दाबी गर्दै मनु ब्राजाकीलाई जान्न/बुझ्न चाहने पाठकहरूलाई उक्त पुस्तक सहयोगी हुने विश्वास दिलाउनुभयो ।

यसै गरी सम्मेलनको तेस्रो तथा अन्तिम दिन आयोजित विश्व काव्य गोष्ठीमा कोलोराडो शाखाबाट प्रतिनिधित्व गर्ने कवि एवम् साहित्यकारहरूले रचनाको वाचन गर्नुभएको थियो । यसरी रचना वाचन गर्नुहुनेहरूमा कोलोराडो शाखा अध्यक्ष राजु सिटौला, महासचिव किरण अधिकारी, कार्यसमिति सदस्य (पूर्व उपाध्यक्ष) सम्झना आचार्य, कोलोराडो शाखा सल्लाहकारद्वय निर्मल प्याकुरेल तथा वासुदेव खनाल, डा. खगेन्द्रप्रसाद दाहाल र गङ्गा अभिलाषी हुनुहुन्थ्यो । सम्मेलनमा कोलोराडो शाखा पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य तारा अधिकारी, पूर्व अध्यक्ष भूपेन्द्र महत, उपाध्यक्ष विजयदेव अधिकारी तथा कार्यसमिति सदस्य रामराज पौडेल पनि उपस्थित हुनुहुन्थ्यो ।

मेरील्याण्ड राज्यको डेलिगेट ह्यारी भण्डारीबाट उद्घाटन गरिएको उक्त सम्मेलनको उद्घाटन सत्रमा अनेसास बोर्ड अफ ट्रस्टिजका पूर्व सल्लाहकार रोहिणी शर्मालाई अनेसासमा उहाँले पुर्‍याउनुभएको योगदानको लागि अभिनन्दन गरिएको थियो भने अनेसास पूर्वकेन्द्रीय अध्यक्ष मोहन सिटौला र अनेसास बोर्ड अफ ट्रस्टिज पूर्व अध्यक्ष तथा पूर्वकेन्द्रीय अध्यक्ष गीता खत्रीलाई उहाँहरूले संस्था र नेपाली भाषा साहित्यमा पुर्‍याउनुभएको योगदानको लागि क्रमशः ‘अनेसास डायस्पोरा साहित्य रत्न-२०२३’ र ‘अनेसास डायस्पोरा नारी रत्न-२०२३’ पुरस्कार जनही ५०१ अमेरिकी डलरसहित प्रदान गरिएको थियो । सम्मेलनको तेस्रो दिन महिला सम्मेलन तथा विश्व काव्य गोष्ठी आयोजना गरिएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू