अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

भुटानी शरणार्थीको कथामा ‘सम्हालिएको जाती’, निर्माण युनिटले लाखमानलाई गर्‍यो सम्मान

बिआरटीनेपाल २०७९ फागुन २० गते ११:३९ मा प्रकाशित

इटहरी । निर्माणको अन्तिम चरणमा पुगेको फिल्म ‘सम्हालिएको जाती’ को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । भुटानी शरणार्थीहरुको कथामा तयार हुँदै गरेको फिल्मको अमेरिकामा ७० प्रतिशत छायाङ्कन सम्पन्न भैसकेको छ भने अब बाकी ३० प्रतिशत छायाङ्कन नेपालमा हुने पत्रकार सम्मेलनमा बताइएको छ । इटहरीमा अवस्थित डिथ्री अनलाइनको सभाहलमा आयोजना गरिएको सम्मेलनमा फिल्मका तर्फबाट निर्माता दीपक परियार, अभिनेता विक्रम विश्व र निर्देशक सन्तोष रामदामको उपस्थिति रहेको थियो ।

यस्तै पत्रकार सम्मेलनकै क्रममा लामो समय देखी इटहरीबाट निर्माता, लेखक तथा निर्देशकको रूपमा अनुभव बटुल्दै फिल्म उद्योगमा यही ठाउँबाट योगदान पुर्‍याएको भन्दै फिल्म युनिटले कोसी भिजन फिल्मसका प्रबन्ध निर्देशक समेत रहेका लाखमान योन्जत तामाङलाई सम्मान समेत गरेको छ । तामाङसँग ३४ वर्षपछिको भेट भएको भन्दै फिल्मका निर्देशक रामदामले खुसी व्यक्त गरे । वहाँको यो प्रगति र अनुभवलाई सम्मान गर्न पाउँदा र पुनः सहकार्य गर्ने अवसर जुरेको रामदामले बताए ।

‘सम्हालिएको जाती’ फिल्मको नेपालमा हुने छायाङ्कनको जिम्मेवारी पनि कोसी भिजनले नै पाएको छ । झापाको शरणार्थी शिविर तथा बिराटनगर एयरपोर्ट लगायत कोसी प्रदेशका विभिन्न ठाउँमा यो फिल्मको छायाङ्कन हुनेछ । फिल्ममा कलाकार बुद्धि तामाङको पनि विशेष भूमिका रहने जनाइएको छ । छायाङ्कनको लागि उनको कहिदिन पछि उपस्थिति रहने पत्रकार सम्मेलनमा बताइयो । फिल्मको गीतमा लोकप्रिय गायिका अन्जु पन्त तथा अन्य गायक गायिकाहरूको स्वर रहने बताइएको छ । झन्डै १ करोड लागतमा बन्ने फिल्मलाई नेपाल, अमेरिका लगायत विश्वभर रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ ।

प्रतिक्रिया