अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

गायिका प्रविशा अधिकारीको ‘परिचय एउटा कथा’मा तेस्रो लिङ्गीको भूमिकामा आकाश

बिआरटीनेपाल २०७९ माघ २८ गते ११:२० मा प्रकाशित

काठमाडौँ । गीतकार नमिता दवाडीको परिचय ! ‘एउटा कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरूको अस्तित्वको खोज र जीवन सङ्घर्षको कथालाई देखाउन खोजेको छ । समाजमा तेस्रो लिङ्गीहरूले भोग्नु परेको पिडा र हेयको दृष्टिमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ । गीतले तेस्रो लिङ्गीहरूले पनि समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउँछिन् ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डाक्टर रमिल अधिकारी र कविता रेग्मीको अभिनय देख्न सकिन्छ । पछिल्लो पुस्ताका स्थापित तथा व्यस्त निर्देशक प्रकाश धितालको अहिलेसम्मकै भिन्न प्रस्तुतिका रूपमा रहेको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।

हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ बोलका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता सङ्ग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ ।

त्रिविबाट अङ्ग्रेजीमा स्नातकोत्तर दवाडीले नेपालमा रहँदा लामो समय अध्यापन पेसामा संलग्न रहिन् । न्युजिल्याण्डमा परिवारसहित रहँदै आएकी नमिताले त्यहाँ इन्टरनेशनल बिजनेस इनोभेसन लेभल सेभन गरेसँगै सुपरमार्मेटमा ड्युटी म्यानेजरको रूपमा कार्यरत छिन् । सार्वजनिक गीत गीतकार दवाडीकै अफिसियल च्यानल नमिता दवाडी अफिसियलबाट बजारमा आएको हो ।

गीतको भिडियो

प्रतिक्रिया