अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

न्युयोर्कमा ह्योल्मो सोनम ल्होसार २१५० सम्पन्न

बिआरटीनेपाल २०७९ माघ २८ गते ११:१० मा प्रकाशित

न्युयोर्क, संयुक्त राज्य अमेरिकाको न्यु योर्क राज्यमा ह्योल्मो सोनम ल्होसार २१५० भव्यताका साथ मनाइएको छ । अमेरिकामा स्थापित संस्था ह्योल्मो सोसाइटी अफ अमेरिकाले शनिवार न्युयोर्कमा आयोजना गरेको सोनाम ल्होसार कार्यक्रम विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थितिमा मौलिक परम्परा तथा सांस्कृतिक नाचगान प्रस्तुतसहित गरिएको थियो। “ह्योल्मो आदिवासी समुदाय” नेपालमा करिब बयानब्बे गाउँमा छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष दुण्डुक लामा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो। त्यस्तै, प्रमुख अतिथिका रूपमा संयुक्त राज्य अमेरिकाका कार्यवाहक महावाणिज्य दूतावास विष्णुप्रसाद गौतम थिए। विशेष अतिथिमा जनजाति महासङ्घ (फिप्ना) का अध्यक्ष राजकुमार विष्ट थिए ।

कार्यक्रममा अन्य अतिथिहरूमा संयुक्त राज्य अमेरिका न्युयोर्कका लागि नेपालका पर्यटन सद्भावना द्त केशव शम राई, गुरुङ तमु समाजका अध्यक्ष तोरङ गुरुङ, Tharus and Friends Association (TFA) उपाध्यक्ष दीपक चौधरी, उत्तर अमेरिकाको वालुङ समुदायका अध्यक्ष चुङदल उक्याप, जिरेल एसोसिएसन अमेरिकाकी अध्यक्ष शान्ति जिरेल, अमेरिकास्थित शेर्पा सङ्घका अध्यक्ष पासाङ दोर्जे शेर्पा, ग्यालसुम्दो सेवा संस्थाकी अध्यक्ष निमा गाले, संयुक्त किरात राई सङ्गठनका उपाध्यक्ष बसन्ती राई लगायत करिब ३०० जना विशिष्ट अतिथि तथा सहभागीहरू थिए।

कार्यक्रममा प्रमुख अतिथि गौतमले शुभकामना व्यक्त गर्ने क्रममा यो पर्व ह्योल्मो समाजको मात्र नभएर सम्पूर्ण नेपालीको पर्व भएको बताए । उनले ह्योल्मो समाज अति नै मिलनसार एक अर्कामा दुःख पर्दा खुल्ला दिलले सहयोगी भावना भएको समुदाय हो र ह्योल्मो बस्ती सिन्धुपाल्चोकको हेलम्बु प्राकृतिक सुन्दरताले भरिभराउ ठाउँ रहेकाले विदेशी पर्यटक हेलम्बु नपुगी फर्किदा भ्रमण अपुरो रहने आशय व्यक्त गरे।

विशेष अतिथि रहेका फिप्ना अध्यक्ष राजकुमार विष्टले जनजातिले कुनै पनि जाति विशेषको विरुद्धमा नरहेको बरु राज्यले जनजाति माथि असमान व्यवहार गरेको र सबैलाई समान व्यवहार गर्नुपर्दछ भन्ने भनाई व्यक्त गरे । संस्थाका अध्यक्ष दुण्डुक लामा ह्योल्मोले स्वागत मन्तव्य दिएका थिए भने महासचिव त्सेवाङ टासी लामाले पनि मन्तव्य दिएका थिए।

कार्यक्रम सञ्चालक घ्यामी ज्याबा ह्योल्मो थिए भने संस्था प्रति विशेष भूमिकामा रहेर कार्य सम्पादन गर्ने तथा सहयोगी ब्यक्तित्वहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई स्वादिष्ट परिकारका खानाको पनि व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया