अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२० | Colorodo: 20:35

”विदेशीकाे इसारामा नेपालमा सरकार ढल्छ, बन्छ”- विप्लव

बिआरटीनेपाल २०७९ माघ २५ गते ६:०५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशीहरूको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ ।बुधवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै महासचिव विप्लवले विदेशीहरूको निर्देशनमा नेपालका अर्थतन्त्रहरू निर्माण हुने गरेको दाबी गर्नुभएको हो । उहाँले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरू आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरूसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताउनुभयो । महासचिव चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवादभित्र लैजानका लागि रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदैछ । नेपालको अर्थतन्त्रको हिसाब गर्दा दुई सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदैछ । ९० प्रतिशत नागरिक/किसान गरिबीको मारमा धकेलिएका छन् । लाखौँ लाख युवाको शक्ति विदेश लखेटिने वा पलायन हुने अवस्थातिर गइरहेको छ । यो आर्थिक सङ्कटमात्रै होइन राजनीतिक सङ्कटकाे कारण पनि हो । संसदीय चुनावहरू एकदमै फितला र कमजोर भए । नागरिकलाई रूपान्तरण, परिवर्तनको चाहना छ । यदि नेपाललाई साँच्चै नै सही अर्थको आत्मनिर्भरतिर लैजाने हो भने, नेपाललाई स्वाधीन बनाउने हो भने विदेशीहरूले इसारा गरेको भरमा सरकार ढल्ने र बन्ने, विदेशीहरूको निर्देशनमा यहाँका अर्थतन्त्र निर्माण गरिने अवस्थालाई हटाउनुपर्छ । तराईमा मिटरब्याज, पहाडमा लघुवित्तको नाममा उठीवास भएको छ । केही गर्छु भन्ने र मध्यम वर्गीय खालका उद्योग व्यवसायीहरू जल्नुपर्ने, आत्मदाह गर्नुपर्ने परिस्थिति छ । राष्ट्रिय उद्योगीहरूसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति छ ।’

महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिने गरी अघि बढ्ने जिकिर पनि गर्नुभयाे । उहाँले नेपाली नागरिकले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै पार्टी आउँदा दिनमा नागरिकमा जाने र नागरिककाे नेतृत्व गर्ने दाबी गर्नुभयो । उहाँले नेपाल कम्युनिस्ट पार्टीलाई जनआधारित पार्टी बनउनुपर्ने भन्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरी परिवर्तनको संवाहकका रूपमा पार्टीलाई उभ्याउने बताउनुभयो । उहाँले विचार मिल्ने र मुद्दा मिल्ने कम्युनिस्ट पार्टीहरूसँग सहकार्य हुने पनि स्पष्ट पार्नुभयो ।  महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको आराेप लगाउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू