अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

पूर्वमेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिआरटीनेपाल २०७९ माघ २३ गते ७:२० मा प्रकाशित

कृषि सडक निर्माणमा रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहिदनगर नगरपालिकाका निवर्तमान मेयर र उपमेयरसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिकाले आव २०७४/७५ का लागि वडा नम्बर ८ स्थित बिसरभोरा नहरदेखि गोठ कोयलपुरसीसम्म कृषि सडक निर्माण गर्दा फर्जी कागजात बनाएर फिल्डमा भएको भन्दा बढी उल्लेख गरी रकम हिनामिना गरेको कसुरमा अख्तियारमा उजुरी परेको थियो । उजुरीको अनुसन्धान गर्ने क्रममा उपभोक्ता समितिमार्फत भएको काममा वास्तविकभन्दा बढी काम देखाएर २ लाख १२ हजार ८ सय १६ रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि नगरप्रमुख उदयकुमार बरबरिया, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समिति संयोजक जैसीलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध हिनामिना भएको रकम बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबी लिइएको छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर सञ्जय यादव र वडा नम्बर ८ का अध्यक्ष तनुकलाल कुसियत तथा योजना शाखा प्रमुख विन्देश्वर यादवविरुद्ध पनि हिनामिना भएको रकमबमोजिम बिगो‚ त्यति नै जरिवाना र कैद सजाय माग गरिएको छ । आर्थिक प्रशासन प्रमुख नन्दकुमार झालाई छुट्टै बिगो, त्यति नै जरिवाना र कैद सजाय तथा हिनामिना भएको रकम असुलउपर गर्न भनिएको छ । सोही योजना सञ्चालन गर्ने जिम्मा पाएका उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी र सचिव मुकेश लखनदे यादवविरुद्ध पनि बिगो, कैद र जरिवाना तथा बिगो जफतको मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूबाट गलत प्रतिवेदन बनाएर रकम हिनामिना गरेको, फर्जी कागजात पेस गरेर भुक्तानी लिएकोलगायतका कसुरमा अभियुक्त बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू