अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १३ सय जना नाघ्यो

बिआरटीनेपाल २०७९ माघ २३ गते ७:०४ मा प्रकाशित

टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १३ सय जना नाघेको छ । आज बिहान टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १३ सय जना नाघेको बीबीसीले जनाएको छ ।

अहिलेसम्म टर्कीमा ७ सय र सिरियामा ६ सय जना गरी १३ सय जना बढीको ज्यान गएको पुष्टि भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । भूकम्पले भवनलगायतका संरचना भत्किँदा टर्कीमा मात्रै ५ हजार तीन सय जनाभन्दा बढी घाइते भएका छन् ।

भूकम्पले भत्किएका भवनमा खोजी र उद्धार कार्य चलिरहेकोले ज्यान गुमाउने र घाइतेको सङ्ख्या बढ्न सक्ने टर्कीका उपराष्ट्रपति फौट अक्टेलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । सिरियाली अधिकारीहरूले पनि घाइतेको सङ्ख्या बढिरहेको र अस्पतालहरूमा चाप बढेकोले उपचारमै कठिनाइ आएको बताएका अल जजिराले जनाएको छ ।

भूकम्पबाट लाखौँ मानिस प्रभावित भएका छन् । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको बीबीसीको खबरमा उल्लेख छ । भूकम्पपछि परकम्पहरू गइरहेका टर्कीका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू