अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

पूरक बजेट ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ- अर्थविद्

बिआरटीनेपाल २०७९ माघ २३ गते ७:०० मा प्रकाशित

अर्थविद्हरूले पूरक बजेट ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै अर्थविद्हरूले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनका लागि औचित्य पुष्टि हुने गरी तत्काल पूरक बजेट ल्याउन सुझाव दिएका हुन् । उनीहरूले अहिलेको बजेटमा सरकारका साझा न्यूनतम कार्यक्रम समावेश नभएको भन्दै साझा कार्यक्रम कार्यान्वयन गर्ने गरी पूरक बजेट आवश्यक रहेको बताएका हुन् ।

अर्थविद् डाक्टर डिल्लीराज खनालले अहिलको बजेटमा राखिएको राजस्व सङ्कलनको लक्ष्यसमेत भेटाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताउनुभयो । सरकारले पूरक बजेटको नाममा जथाभाबी, मनपरी ढङ्गले अर्को बेथिति निम्त्याउने र वित्तीय अराजकता सिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेटभित्र पुनःसंरचना गरेर पूरक बजेट ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डाक्टर चिरञ्जीवी नेपालले सरकारले बजारमा लगानीयोग्य रकम पठाउन अर्थ मन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताउनुभयो । उहाँले अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समीक्षा गरेर आर्थिक वृद्धिदर, मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्न आवश्यक रहेको औँल्याउनुभयो । वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा आठ प्रतिशत आर्थिक वृद्धि हुने र मूल्यवृद्धिलाई सीमाभित्रै राख्ने अवस्था नदेखिएको उहाँको भनाइ छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने मौका चुकाउन नहुने बताउनुभयो । उहाँले वर्तमान सरकारलाई सबै राजनीतिक पार्टीको साथ रहेकाले प्रधानमन्त्रीले समेत अर्थतन्त्र बलियो बनाउने काममा ध्यान बढी केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो । पूर्वगभर्नर क्षेत्रीले अघिल्लो सरकार हुँदासम्म देशको अर्थतन्त्र बिग्रियो, भत्किहाल्यो भन्ने गरिए पनि वर्तमान सरकार आएसँगै अर्थतन्त्रमा केही सकारात्मक सुधार देखिएको बताउनुभयो ।

तर अर्थ मन्त्री विष्णुप्रसाद पौडेल भने पूरक बजेट ल्याउने पक्षमा देखिनुभएको छैन । उहाँले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने दाबी गर्दै बजेट समीक्षामार्फत चालु खर्च अझै घटाइने सङ्केत गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू