अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ- माओवादी केन्द्र

बिआरटीनेपाल २०७९ माघ २१ गते ५:५५ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने जनाएको छ ।शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष कृष्ण बहादुर महराले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको बताउनुभयो । उहाँले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको बताउनुभयो । उहाँले सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको बताउनुभयो ।

आजको बैठकमा आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गर्ने निर्णय भएको महराको भनाई छ । । उहाँले पार्टी संगठन सदृढीकरणका लागि दुई महिने संगठन सुदृढीकरणको अभियान चलाउने बताउनुभयो । यस अभियानमा चुनावी अन्तर्घातका बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताउनुभयो । उपाध्यक्ष महराले पार्टी संगठन सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरु परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू