अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

घाेडाकाज

नवराज न्याैपाने 'माैन' २०७९ माघ १९ गते २१:१३ मा प्रकाशित

लघुकथा

‘अब हिउँद लाग्याे, हिउँ पर्छ । तिमीलाई काज दिन्छु,घाेडा अाफ्नै घरमा लगेर पाल्नू । हिउँ पग्लेपछि अाउनू । ल, ३ महिना घाेडाकाज भयाे।’ हाकिमले सयस ज्ञानबहादुरलाई भने। लेखापालले असाेजदेखि मङ्सिरसम्मकाे तलबमाथि घाेडाकाे दाना पेश्की समेत थपेर दिए ।

ऊ घाेडा लिएर बाटाे लाग्याे । हाकिम र लेखापाल जहाजबाट काठमाडौं उडे ।

तर ज्ञानबहादुर घर नगई बीचबाटाेमा बस्याे । राति मदिरा सेवन गरेर १०० रुपैया प्वाइन्ट म्यारिज खेल्याे । रातभरमा हारेरर हराएर सबै पैसा सकेछ ।

‘अब त घर कसरी जानू र? यतै बस्नु्पर्ला। चैतमा ४ महिनाकाे तलब बुझेपछि तिर्नुपर्ला।’अनि अाफ्नाे खाना घाेडाकाे दाना सबै उधाराेमा चलायाे ।

चैतकाे अन्त्यमा ऊ घाेडा लिएर ऊ कार्यालय गयाे । घाेडा घरमा नलगी बाटाेमा बसेकाे थाहा पाएर लेखापालले गाली गरे । अनि चैतसम्मकाे तलब र दानाकाे पेश्की फर्छ्याैट गरि बाँकी रकम समेत दिएर भाेलि नै घर जानू भनी सम्झाए ।

त्याे रात पनि उसले मदिरा सेवन गरेर म्यारिज खेल्याे । अाधा पैसा हार्याे र अाधा हरायाे ।

भाेलिपल्ट सबैजना ताताेपानी मुलमा नुहाउन गए। तर पश्चातापले गलेकाे ज्ञानबहादुर भने ताताेपानी छेवैकाे मर्स्याङ्दीमा हाम्फालेर निर्जीव बन्न पुग्याे ।

प्रतिक्रिया