अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

शोक !!

युवराज मैनाली २०७९ माघ १७ गते २०:२० मा प्रकाशित

लघुकथा
“सन्तोष बाबू!सन्तोष बाबू!” हजुर बुबाका आवाजले कानमा चुम्न आएपछि सन्तोषका आँखाका ढकनी उघ्रन्थे। जुरुक्क उठ्थ्यो,नित्य कर्म गर्थ्यो- पठन, लेखन, गृहकार्य सबै जे जे गर्नु छ ऊ फटाफट गर्थ्यो।

बढ्यो, ठूलो हुँदै गयो। पढ्यो, जान्ने सुन्ने भयो। यी सबैमा प्रेरणाका स्रोत हजुर बुबा नै थिए। उसको स्मृतिमा कतै पनि जन्मन सकेको थिएन-मेरा हजुर बा केही समयका लागि मात्र हुन् भन्ने कुरा। ऊ एकतमास शिरको देवता र मुटुको धड्कन सारा उनै हुन् भन्नेमा हृदयदेखि नै विश्वस्त थियो र हुन्छ पनि सबैलाई एउटा विश्वास पात्रप्रति।

सन्तोष, पढाइको स्तर बढ्दै गएपछि अचानक यसै सिल्सिलामा अमेरिका जान पर्ने भयो र गयो पनि।

अचानक दुखद् खबर उसका कानमा बज्रन पुग्यो। हजुर बुबाको निधनको खबरले अकल्पनीय छट्पटाहटमा सन्तोष पर्यो। के गरौँ के नगरौँको उथल्पुथलले उसको मनोगति विचलित भयो। समालिने हरप्रयास बालुवामाथिको पानी बराबर बन्न लागे। यस पीडाको सागरबाट उम्कने वा मुक्त हुने कैयौँ प्रयास पनि अौषधी बन्न नसकेकामा सन्तोष आफैँ विस्मित बनेको छ। अब उसमा अन्तर उदासिनता र शून्यताले घर बनाउन थाले। जता फर्के पनि,जे गरे पनि मनोलोकमा हजर बुबा नै हजुर बुबा!हरे!!

समय बित्दै गएपछि सन्तोषमा अलिकति परिवर्तनका सङ्केत आभासित हुन लागे-“यो जीवनको एक भाग मात्र रहेछ। यसमा डुबेर जीवन विचलित बनाउनु कायरताको मात्र नमुना हो। तिनै सम्झनाबाट जीवनलाई साहसिक यात्रामा लैजानु मेरो कर्तव्य हो। साथीसँगातीका सङ्गतले, आफ्नै अनुभवले पनि मलाई शिक्षित गरिरहेको छ, अब म उनका सम्झनालाई,उनका जीवन प्रेरणालाई स्मृतिका सिरानमा हालेर जीवनक‍ ो यात्रा निर्वाध…निर्वाध….रूपमा” का स्मरणले सन्तोषलाई जीवन्त गतिमा उचालिएको अनजान ऊर्जासँग होझैँ लाग्यो र बोल्यो-“के मैले चिन्ता गरेर मेरा हजुर बा आउँछन्, मैले शिर ठोकेर आँसु चुहाएर लक्ष बिगार्दै घर फर्केर काजक्रिया गर्दैमा मेरा बाको फिर्ती हुन्छ,दिएको खान पाउँछन्? असम्भव…असम्भव….।।