अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

यो वर्ष विश्व मुद्रास्फीति दर ६.६ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण

बिआरटीनेपाल २०७९ माघ १७ गते ५:५९ मा प्रकाशित

सन् २०२३ मा विश्व मुद्रास्फीति दर ६.६ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ ।‘वर्ल्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा जस्तै यो वर्ष पनि विश्व मुद्रास्फीति दर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ ।सन् २०२२ मा ८.८ प्रतिशत रहेको विश्व मुद्रास्फीति दर सन् २०२३ मा ६.६ प्रतिशत र सन् २०२४ मा ४.३ प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ ।

विश्वका ८४ प्रतिशत देशमा उच्च मुद्रास्फीतिको असर त्यहाँको अर्थतन्त्रमा देखिने मुद्रा कोषको अनुमान छ । अस्तव्यस्त आपूर्ति शृंखला, महँगो उत्पादन लागत, ऊर्जा तथा खाद्य संकटलगायत कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने ठानिएको छ । रुस–युक्रेन तनाव र कोरोना महामारीपछि सुस्ताएको विश्व अर्थतन्त्र लयमा फर्कन नसक्दा त्यसको प्रभाव देखिएको आईएमएफले प्रतिवेदनमा उल्लेख गरेको छ ।कोरोना महामारी सुरु हुनुअघि सन् २०१७ देखि २०१९ सम्ममा विश्व मुद्रास्फीति दर औसत ३.५ प्रतिशतबराबर मात्र थियो । तर, पछिल्ला वर्षहरूमा यस्तो वृद्धिदर बढ्दै गएर सन् २०२२ मा ९.९ प्रतिशतसम्म पुगेको छ । चर्को मुद्रास्फीतिबाट सानो अर्थतन्त्र, न्यून आय भएका र विकासोन्मुख देशहरू बढी प्रभावित भएको आईएमएफले जनाएको छ ।

ठूलो अर्थतन्त्र भएका र विकसित मुलुकहरूमा सन् २०२२ मा औसत ७.३ प्रतिशतसम्म पुगेको मुद्रास्फीति सन् २०२३ मा ४.६ प्रतिशत रहने अनुमान छ ।उदाउँदो अर्थतन्त्र र विकासशील मुलुकहरूमा सन् २०२२ मा ९.९ प्रतिशतसम्म पुगेको मुद्रास्फीति दर सन् २०२३ मा ८.१ प्रतिशत रहने प्रक्षेपण छ ।यस्तै, न्यून आय भएका र कम विकसित मुलुकहरूमा सन् २०२२ मा १४.२ प्रतिशतसम्म पुगेको मुद्रास्फीति दर ८.८ प्रतिशत रहने अनुमान गरिएको छ ।

चरम मुद्रास्फीतिको नकारात्मक प्रभाव विश्व आर्थिक वृद्धिदरमा प्रत्यक्ष रूपमा देखिएको छ । आईएमएफका अनुसार सन् २०२२ मा विश्व आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने अनुमान छ ।यस्तै, सन् २०२३ मा २.९ र सन् २०२४ मा ३.१ प्रतिशत विश्व आर्थिक वृद्धिदर रहने प्रक्षेपण गरिएको छ ।केही समयअघि मात्र विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर १.७ प्रतिशतमा खुम्चने प्रक्षेपण सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२-२३ मा ५.१ र २०२३-२४ मा ४.९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनले पनि रुस–युक्रेन युद्ध र कोरोना महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रूपमा उल्लेख गरेको छ ।उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृंखलामा देखिएको अवरोधलगायत कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ ।सन् २००९ को विश्व आर्थिक मन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदरपछि यो वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । “सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो । विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू