अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

माओवादीले संगठन सुदृढीकरण र परिचालन सम्बन्धी तीन महिने अभियान चलाउने

बिआरटीनेपाल २०७९ माघ १७ गते ५:५८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण र परिचालन सम्बन्धी तीन महिने अभियान चलाउने भएको छ । पार्टी महासचिव देव गुरुङले तयार गरेको प्रतिवेदनमा संगठन परिचालनका सम्बन्धमा तीन महिने अभियान चलाउने प्रस्ताव गरिएको छ । ‘अब तीन महिने कार्यक्रम बनाएर सबै केन्द्रीय सदस्य, जनवर्गीय संगठनका नेता र पार्टी सदस्यहरु जनताको बीचमा जाने भन्ने प्रस्ताव गरिएको छ । तीन महिनासम्म जनताकै बीचमा जाने, जनताका विकास निर्माण तथा योजनाका काम गर्ने र जनताको दुख सुखसँग साझेदारी भई काम गर्नुपर्ने छ,’ पार्टी सचिव दिनानाथ शर्माले भन्नुुभयो, ‘जनताकै बीचमा आटो मिठो खाने, ढिँडो फाँडो खाएर काम गर्ने भन्ने छ । यतै काठमाडौं सिंहदरबार र मन्त्रालय धाउने होइन । सदरमुकाम पनि बस्ने होइन गाउँमै बसेर संगठन निर्माणमा लाग्ने भन्ने छ ।’

अब सबै केन्द्रीय सदस्यहरु गाउँमै बसेर जनताका काममा जोडिनु पर्ने प्रस्ताव गरिएको शर्माले बताउनुुभयो । केन्द्रीय सदस्यहरुले थानकोट काटेर काठमाडौं पस्न समेत नपाइने उहाको भनाई छ । सरकारका काम कारबाहीलाई जनतासँग जोडेर काम गर्न नेताहरु परिचलान हुनुपर्ने भएको छ । पार्टीका अधिकांश नेताहरु काठमाडौं र सदरमुकाम मात्रै बस्दा संगठन बिग्रेको निष्कर्ष निकाल्दै माओवादीले तीन महिने अभियान चलाउन लागेको हो ।

महासचिव गुरुङले संगठनिक कार्ययोजनासहित सबै रिपोट तयार गरी सकेका छन् । पार्टी संगठनिक योजनासहिको रिपोट बुधबार पदाधिकारी बैठकबाट फाइनल गरेर स्थायी समिति बैठकबाट अनुमोदन हुने भएको छ । पार्टी नेताको कार्यविभाजन र संगठनिक योजनाका विषयमा स्थायी समितिबाट निर्णय हुने शर्माले बताउनुुभयो । ‘पार्टीका सबै संगठनलाई कसरी सक्रिय बनाउने भन्ने पनि योजना बनाएको छ । कसैलाई धेरै जिम्मेवारी हुने कसैलाई केही नहुने भन्ने हुँदैन । सबैले जिम्मेवारी पाउँछन्,’ शर्माले भन्नुुभयो, ‘अब केन्द्रीय सदस्यसहित पोलिटब्युरो स्थायी समिति सबैको जिम्मेवारी तोकिने छ ।’

पार्टीको पोलिटब्युरो र केन्द्रीय समितिलाई समेत पूर्णता दिने माओवादीले तयारी गरेको छ । पार्टीको संगठन विभाग, स्कुल विभागसहित ३० भन्दा बढी विभागको नेतृत्व समेत फाइनल हुने भएको छ । ‘पार्टी र जनवर्गीय संगठनलाई कत्रो बनाउने ? कस्तो बनाउने हो ? पार्टीको भावी योजना के हुने हो । आगामी तीन महिने कार्ययोजनामा समेटिएको छ,’ शर्माले भन्नुुभयो, ‘अब संगठन तन्दुरुस्त बनाउने गरी योजना तयार गरेर कार्ययोजनामा जाने भन्ने छ ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू