अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२ | Colorodo: 21:17

भारतीय व्यापारी अडानीको सम्पत्ति ५ दिनमै झन्डै ४१ खर्ब भारतीय रुपैयाँ घट्यो

बिआरटीनेपाल २०७९ माघ १६ गते ६:३२ मा प्रकाशित

भारतीय व्यापारी गौतम अडानीले गएकाे पाँच दिनमा झन्डै ४१ खर्ब भारतीय रुपैयाँ गुमाउनुभएको छ । अमेरिकी रिसर्च ऐजेन्सी हिन्डनबर्गको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको पाँच दिनमा अडानीले ५० बिलियन अमेरिकी डलर अर्थात् ४० खर्ब ८० अर्ब भारतीय रुपैयाँभन्दा धेरै सम्पत्ति गुमाउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकाको हिन्डनबर्ग रिसर्चले कसरी विश्वको तेस्रो धनी व्यक्तिले कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो ठगी गरे भन्ने शीर्षकमा गएको बुधवार एउटा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । हिन्डनबर्गको रिसर्च बाहिर आएपछि विश्वको तेस्रो धनी व्यक्तिको रूपमा रहेका अडानी समूहको स्थान नवौँ नम्बरमा झरेका छन् ।

फोर्ब्सकाे तथ्याङ्कअनुसार सन् २०२० पछि अडानीको सम्पत्ति एक्कासी बढेको थियो । हिन्डनबर्गले अडानी कम्पनीको शेयर मूल्य वास्तविकभन्दा ८५ प्रतिशत बढी भएको दाबी गरेको छ । अडानी ग्रुप आफैँले शेयर मूल्य बढाएको हिन्डनबर्गको आरोप छ ।

यसैबीच अडानी समूहले हिन्डनबर्गको रिपोर्टलाई योजना बनाएर आफूहरूको छविलाई बिगार्ने काम भएको प्रतिक्रिया दिएको छ । चार सय १३ पेजको रिपोर्टमा जवाफ दिँदै अडानी समूहले भारतमाथि आक्रमण भएको जनाएको छ । यसको जवाफमा हिन्डनबर्गले राष्ट्रवादको सहारा धोकामाथि पर्दा हाल्न नसकिने जनाएको छ । हिन्डनबर्गले आफ्नो रिपोर्ट शतप्रतिशत सत्य रहेको र कानुनीरूपमा रक्षा गर्नसमेत तयार रहेको बताएको बीबीसीले जनाएको छ ।हिन्डनबर्गको प्रतिवेदन आएपछि अडानी समूहअन्तर्गतका कम्पनीमात्र नभएर भारतको बीमा तथा बैंकको शेयर मूल्यसमेत घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू