अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

बैंकको चर्को ब्याजदरविरुद्ध प्रदर्शन : ‘ब्याजदर घटाउ, गरीखान देउ’

बिआरटीनेपाल २०७९ माघ १६ गते ६:२७ मा प्रकाशित

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको चर्को ब्याजदरविरुद्ध प्रदर्शन गरेकाे छ । सोमवार काठमाण्डाैकाे माइतीघर मण्डलामा महासङ्घले बैंकको चर्को ब्याजदर र आतङ्क गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ, नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घ, ललितपुर तयारी पोसाक व्यवसायी सङ्घ, नेपाल कम्प्लेक्स व्यापार सङ्घ लगायतले माइतीघरमा ब्यानर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको, बैंक तथा वित्तीय संस्थाले आतङ्क फैलाउँदा पीडित भएकोले सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीले गुनासाे गरे ।

महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंकले व्यवसायीलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको बताउनुभयो । उहाँले दुई वर्ष अगाडि आठ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पुर्‍याएकाले व्यवसायी मर्कामा परेका बताउनुभयो । अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बेला बैंकले उद्योगी व्यवसायीलाई अपमान गरेको उहाँकाे भनाइ छ ।

अध्यक्ष कार्कीले देशकाे अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका उद्योगी व्यवसायीमाथि राज्य र बैंकले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले बैंकको चर्को ब्याजदर, कालो सूची र धितो लिलामी जस्ता कारणले व्यवसायी दिनप्रतिदिन निरुत्साहित भएका सुनाउनुभयाे । कर्जा तिर्नका लागि समय माग गर्दासमेत बैंकले नदिएको उहाँकाे गुनासाे छ । अध्यक्ष कार्कीले बैंकले धितो लिलामी गरेर हजारौँ व्यवसायीलाई सुकुम्वासी बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले महासङ्घले उठाएका माग सम्बोधन नभए चरणबद्धरूपमा आन्दोलन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू