अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

काठमाडौंमा सर्ट फिल्म प्रतियोगिता हुँदै, बनाउन ७५ हजार नगद दिइने, पहिलो हुनेलाई २ लाखको पुरस्कार

बिआरटीनेपाल २०७९ माघ १३ गते ५:४८ मा प्रकाशित

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसले संयुक्त रुपमा छोटो फिल्म प्रतियोगिता आयोजना गर्ने भएका छन्। प्रतियोगितामा सहभागी हुन बिहीबारदेखि आवेदन खुला गरिएको छ ।यसबारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख शिशिर उप्रेतीले धेरै लगानी गरेर फिल्म बनाउन गाह्रो हुनेका लागि यस्तो प्रतिस्पर्धा वरदान हुन सक्ने बताउनुभयो। ‘छोटो फिल्म थोरै पैसामा पनि बनाउन सकिन्छ । हामीले पैसा छैन तर कथा छ भने पनि निर्माणमा हातेमालो गर्न तयार छौं भन्ने सन्देश दिन खोजेका हौं,’ उप्रेतीले पत्रकार सम्मेलनमा भन्नुभयो ।

छोटो फिल्म प्रतिष्पर्धामा निर्देशक अनुप बराल, अभिनेत्री सुरक्षा पन्त र निर्देशक सुजित बिडारी निर्णायक हुनेछन्। पत्रकार सम्मेलनमा निर्देशक बरालले छोटो फिल्मलाई बिरुवाको रुपमा व्याख्या गर्नुभयो। ‘सर्ट फिल्म भनेको बेर्ना हो । यही बेर्ना ठूलो भएर रुख बन्छ र फल दिन्छ । फिल्मकर्मीका लागि पनि लघु फिल्म यस्तै बेर्ना हो । सानो चीज बनाउन झन् ठूलो मेहनत पर्छ तर सानो चीजकै सामर्थ्य ठूलो हुन्छ,’ उहाँले भन्नुभयो ।

निर्देशक बिडारीले यस्ता प्रतिस्पर्धाले दृश्य साक्षरता निर्माणमा योगदान दिने पत्रकार सम्मेलनका क्रममा बताउनुभयो। अभिनेत्री सुरक्षा पन्तले म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस दुवैले कामको दायरा बढाउने पहल गरेको बताउनुभयो।

छोटो फिल्म प्रतिस्पर्धामा सहभागी हुन चाहनेले फागुन ३० गतेसम्म कथासार बुझाउनुपर्ने छ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनुपर्नेछ।यसरी प्राप्त भएका स्क्रिप्टलाई निर्णायकद्वारा तीन दिनसम्म प्रशिक्षण दिइनेछ। त्यसमा पुनर्लेखन गरी आएका स्क्रिप्टमध्ये १० स्क्रिप्ट छानेर प्रत्येकलाई ७५ हजार रुपैयाँ नगद दिइनेछ। यसरी बनेका फिल्ममध्ये पहिलोले दुई लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रतिक्रिया